नेपालगञ्ज : मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले ठुलो पानी पर्ने सम्भावना भएको हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेका मौसम बुलेटिन अनुसार भोली र पर्सी ठुलो पानी पर्ने सम्भावना रहेकोले नदी, नाला तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको हो ।
यता मंगलवार र बुधवार ठुलो पानी पर्ने चेतावनी आएकोले बाँकेस्थित नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ ।
भोलीदेखि मनसुन पुनः सक्रिय हुने र बाँके जिल्ला लगायतका क्षेत्रहरुलाई रेडजोनमा राखिएको हुँदा जिल्लास्थित सबै स्थानीय तह, जिल्ला आपातकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय आपातकालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला तथा सम्बद्ध सबै सरकारी एवं गैरसरकारी कार्यालय र संघसंस्थाहरुलाई सतर्क रही तयारी अवस्थामा रहन बाँके प्रशासनले आग्रह गरेको छ ।
यस्तै राप्ती, डुडुवा लगायत नदी तटीय क्षेत्रका साथै बाढी तथा डुबानका दृष्टिकोणले सम्बेदनशील अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन अनुरोध गर्दै बाँके प्रशासनले सुचना जारी गरेको छ ।