११ मंसिर २०८१, मंगलवार

बाँकेको राप्तितटमा गंगा महाआरती सम्पन्न

राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्ने अपेक्षा

  • न्युज मानसराेवर

बाँके:बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा सोमबार वेलका गंगा महाआरती गरिएको छ । बाँकेमा पहिलोपटक गंगा किनारमा यसरी महाआरती गरिएको हो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम शिवलिंग विश्वम्भरनाथ महादेव १०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा सोमबार बेलुका ७ बजे गंगा महाआरती गरिएको हो ।

पहिलोपटक गरिएको गंगा महाआरतीमा नेपालगन्जसहित कम्दी आसपास क्षेत्रका उल्लेख्य मात्रामा भक्तजनको उपस्थिती रहेको थियो । पहिलो पटकमै सयौंको संख्यामा उपस्थित भक्तजनकाबीच गरिएको महाआरतीले राप्तीको सिधनीयाघाट गुल्जार बनेको थियो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचार–प्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गरिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए । उनका अनुसार श्रावण शुक्ल पुर्णिमाका दिनदेखि हरेक महिनाको पुर्णिमामा गंगा महाआरती गरिनेछ ।

राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैंमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, दिपावलीमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय–समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ बिसर्जन र शव दह लगायतका कार्यक्रमहरु हुने गरेको छ । राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताए ।

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech