बाँके\लुम्बिनी प्रदेशसभा बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदनसहित पेस भएको छ । बुधवार प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभा समक्ष पेस गरेकी हुन् ।
वैशाख ३० गते प्रदेशसभामा दर्ता भएको उक्त विधेयक जेठ १३ गते दफावार छलफलका लागी प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिको जेठ १५ गते बसेको १६ औँ बैठकबाट विधेयक माथि दफावार छलफल गरिएको र साउन १६ गते बसेको समितिको ३० औँ बैठकले प्रतिवेदन सहितको विधेयक स्वीकृत गरेको सभापति बुढाले सभासमक्ष जानकारी दिएकी छन् ।
विधेयकमा लुम्बिनी प्रदेशका १०९ वटै पालिकामा कानुन अधिकृत व्यवस्था गर्ने विषय समावेश गरिएको छ । अहिले रहेको ऐनमा स्थानीय तहमा कानुन अधिकृतको दरबन्दी नभएकोले यस्तो व्यवस्था गरिएको जनाइएको छ ।