७ मंसिर २०८१, शुक्रबार

कोरियामा नेपाली युवाको माग बढ्यो, ५ हजारलाई रोजगारी
  • न्युज मानसराेवर

काठमाडौं:कोरियामा नेपाली युवा कामदारको माग बढेको कारण रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२४ मा पाच हजार युवा रोजगारीको लागि कोरिया पुगेका छन् । सेवासुविधाका दृष्टिकोणले कोरिया आकर्षक श्रम गन्तव्यमा पर्छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले अन्य देशको तुलनामा नेपालले सबैभन्दा बढी कामदार कोरिया पठाउँदै आएको बताएकी छिन् । अन्य देशको तुलनामा नेपालबाट जाने कामदार संख्या बढी नै रहेको छ ।

आम्दानीका हिसाबले अधिकांश नेपाली युवाको आकर्षणको गन्तव्य मुलुक कोरिया भएको छ । नेपाली युवाहरुको लगनशिलता, कामप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभावका कारण पनि पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको देखिन्छ । यसैगरी कोरियाको रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्ने गरेका कारण नेपाली युवाको माग धेरै हुने गरेको अनुमान गरिएको छ ।

कोरियाले गैरकानुनी रुपमा बस्ने देशका कामदार कम माग गर्ने गरेको छ । नेपालीहरु अन्य देशको तुलनामा कम संख्यामा गैरकानुनी रुपमा कोरिया बस्ने गरेका कारण नेपालले कोटा बढी पाउने गरेको छ । नेपालीहरु तोकिएको श्रम करार अवधि सकिएपछि समयमै स्वदेश फिर्ता हुनाले पनि कोरियाले नेपाललाई सकारात्मक रुपमा हेर्ने गरेको श्रम विज्ञहरुको भनाइ छ ।

सन् २०२३ मा १६ वटा राष्ट्रमध्ये नेपालबाट सबैभन्दा धेरै १९ हजार ६८९ कामदार कोरिया प्रवेश गरेका थिए । अन्य देशको तुलनामा कोरियाले नेपालीलाई उच्च मूल्यांकनमा राखेको छ । अहिले उत्पादन क्षेत्रतर्फ ९ हजार ७२८ जना, कृषिमा ९ हजार ६७२ जना, शीप बिल्डिङमा ३ हजार ८८५ जना र सिविटीमा ७५४ जना गरी २४ हजार ३९ जना रोष्टरमा छन् ।

कोरियामा काम गर्ने स्वदेशी वा विदेशी कामदारले बिनाभेदभाव निर्धारित न्यूनतम पारिश्रमिक पाउने व्यवस्था छ । कामदारले प्रतिघण्टा ९८६० कोरियन वनका दरले मासिक औसत २६ दिनको न्यूनतम २० लाख कोरियन वन (करिब २ लाख १० हजार नेपाली रुपैयाँ) पारिश्रमिक प्राप्त गर्न सक्छन् । यसबाहेक ओभरटाइम र बिदाको दिन काम गरे अलग्गै भत्ता पाइन्छ । नेपालबाट प्रस्थान गर्नुअघि ६ वर्षे वैदेशिक रोजगार बीमा गर्नुपर्छ भने कोरिया पुगेपछि स्वास्थ्य बीमा, स्वदेश फिर्ता बीमा, दुर्घटना बीमा, चोटपटक बीमा गर्नुपर्ने व्यवस्था रहेकोे छ ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech