७ मंसिर २०८१, शुक्रबार

नेपालगन्ज भन्सार बर्षारम्भको सुरुवातमै ओरालो

कुल २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरिएकोमा ७३.६७ प्रतिशत मात्रै लक्ष्य हासिल

  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज भन्सार कार्यालय चालु आर्थिक बर्षको सुरुवातमै ओरालो लागेको छ । विगत तीन आर्थिक बर्षदेखि लगातार बार्षिक लक्ष्य हासिल गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व. २०८१/०८२ को सुरुवाती महिना साउनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सकेन ।

चालु आर्थिक बर्षका लागि अघिल्लो आ.व.का तुलनामा अर्ब बढी लक्ष्य घटाएर निर्धारण गरेपनि सुरुवातमै असुली कमजोर देखिएको हो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चालु आ.व. २०८१/०८२ को साउन महिनाका लागि कुल २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरिएकोमा ७३.६७ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले साउन महिनामा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार असुली लक्ष्य निर्धारण गरेको थियो ।

गत आ.व.मा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आ.व. २०८१/८२ का लागि गत आ.व.को तुलनामा १ अर्ब घटाइएको थियो । गत आ.व.मा २०८०/०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकोमा घटाएर चालु आ.व.मा भन्सार असुली लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो । यद्यपि, गत आ.व.मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आ.व.का लागि २७ अर्ब बढी तोकिएकाले चालु आ.व.मा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौति हुने भन्सार अधिकारीहरू बताउँछन् ।

‘आ.व.मा २०८०/०८१ मा १८ अर्ब बढी असुली हुँदा आ.व. २०८१/८२ का लागि २७ अर्ब बढी अर्थात् गत आ.व.का तुलनामा ९ अर्ब बढी लक्ष्य निर्धारण गरिनुले सहजै असुली सम्भव नभएको तथ्यांकमै देखिन्छ’, एक भन्सारका कर्मचारीले भने । कतिपय भन्सार कर्मचारीहरू विगतको असुली मूल्यांकन नगरी आगामी आ.व.का लागि लक्ष्य निर्धारण गर्दा अनाहक दबाबको महसुस गर्नुपर्ने बताउँछन् ।

प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले लक्ष्य नै बढी हुँदा लक्ष्य अनुसार असुली हुन नसकेको बताउँदै आएका छन् । भन्सारले विगतमा पनि लक्ष्य अनुसार असुली गर्न सकेको छैन । आ.व. २०७९/८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड बढी मात्रै राजश्व संकलन गर्न सफल भएको थियो । आ.व. २०७८/०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व नेपालगन्ज भन्सारले असुली गरेको थियो ।

नेपालगन्ज भन्सार कार्यालयको विगत १२ बर्षको तथ्यांक हेर्ने हो भने चार आर्थिक बर्षमा मात्रै लक्ष्य हासिल गर्न नसकेको पाइन्छ । आ.व. २०७७/०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजश्व असुली भएपछि त्यसपछिको आ.व.मा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आ.व. २०७८/०७९ मा ७ अर्ब भन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पुर्याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन । लक्ष्य हासिल गर्न नसकेपनि त्यसपछिको आ.व. २०७९/०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पुर्याइएको थियो ।

  • ११ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech