३ आश्विन २०८१, बिहीबार

लुम्बिनी प्रदेश निजामति सेवा ऐन संशोधन विधेयक पारित
  • न्युज मानसराेवर

नेपालगन्ज: लुम्बिनी प्रदेश निजामति सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आज बसेकाे  बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश सभाको गत शुक्रवार बसेको  बैठकमा पेश भएको संशोधन विधेयकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानुन समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

समिति सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको आज बसेको पहिलो बैठकमा पेश गरेको थियो ।

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए ।

  • ३१ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech