२६ जेष्ठ २०८२, आईतवार

लुम्बिनीमा बिमा गर्ने १५ लाखभन्दा बढी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०-०८१ सम्ममा १५ लाख बढी सर्वसाधारणले विभिन्न बिमा गरेका हुन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापाले गत आर्थिक वर्ष सम्ममा लुम्बिनी प्रदेशका १५ लाख तीन हजार ८४० जना सर्वसाधारण नागरिक विभिन्न बिमामा आबद्ध भएको बताए । उनका अनुसार नौ लाख ९६ हजार ३७५ जना जीवन बिमा, चार लाख ८२ हजार १८ जना निर्जीवन बिमा र २५ हजार ४४७ जनाले कृषि बिमा गरेका हुन् ।

प्रदेश प्रमुख थापाका अनुसार कुल जीवन बिमा गरेका नागरिकबाट २४ अर्ब ३९ करोड ६३ लाख ७७ हजार रुपियाँ बिमा शुल्क बापत सङ्कलन भएको छ । त्यसैगरी निर्जीवन बिमा गरेका नागरिकबाट तीन अर्ब ६५ करोड २९ लाख ४४ हजार रुपियाँ र कृषि बिमा गरेका नागरिकबाट २५ करोड ५९ लाख ४२ हजार रुपियाँ बिमा शुल्क बापत सङ्कलन भएको छ।

निर्जीवन बिमातर्फ गत आर्थिक वर्ष सम्ममा १७ हजार ६२२ जना नागरिकले बिमा दाबी गरेका थिए । जसमध्ये १५ हजार १२५ जना नागरिकले बिमा भुक्तानी प्राप्त गरेका थिए । दुई अर्ब ५६ करोड ४२ लाख ४२ हजार रुपियाँ रकम बिमा दाबी भएकोमा एक अर्ब ८४ करोड ३५ लाख ५१ हजार रुपियाँ रकम दाबी भुक्तानी गरिएको थापाले बताए।

त्यसैगरी कृषि बिमातर्फ गत आर्थिक वर्ष सम्ममा चार हजार ९७८ जनाले २१ करोड चार लाख १० हजार रुपियाँ बराबरको रकम दाबी गरेको र पाँच हजार २७८ जनालाई २२ करोड चार लाख ५७ हजार रुपियाँ रकम दाबी भुक्तानी वापत प्रदान गरिएको प्रदेश प्रमुख थापाको भनाइ छ ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८ दशमलव ४७ प्रतिशत नागरिक जीवन बिमाको दायरामा आएका छन् । लुम्बिनी प्रदेशको जिडिपीको अनुपातमा कुल बिमा शुल्क ३ दशमलव ४४ प्रतिशत, कुल जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा १५ दशमलव ६० प्रतिशत रहेको र कुल निर्जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा ८ दशमलव ८० प्रतिशत रहेको छ ।

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको नियमन, निरीक्षण, सुपरिवेक्षण गर्ने, न्यून आय वर्गसमक्ष बिमाको पहुँच पुर्‍याउने र लघुबीमाको प्रवर्धन गर्ने, बिमाको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने, बीमित हित संरक्षण सम्बन्धी कार्य गर्ने तथा बिमा नियामकको हैसियतमा अन्य कार्यहरू गर्दै आएको प्रदेश प्रमुख थापाको भनाइ छ ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech