बाँके\लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०८१ ल्याएको छ । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ भन्ने नाराका साथ दसैँ, तिहार, छठ पर्व केन्द्रित सुरक्षा योजना ल्याएको लुम्बिनी प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी कुबेर कडायतले जानकारी गराएका छन।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा चाडपर्वमा ७ हजार ६४४ प्रहरी परिचालन गरिने उनको भनाइ छ । २६ प्रकारको ड्युटीको नाम दिएर चाडपर्वको अवसरमा ती प्रहरी जनशक्ति खटाइने उनले बताए ।
डीआईजी कडायतका अनुसार सीमा नाकामा प्रहरीका तालिमप्राप्त कुकुर परिचालन गरी चेकिङ गर्नेदेखि धेरै भिडभाड हुने ठाउँमा ड्रोन क्यामेरासमेत प्रयोग गरेर निगरानी बढाउने योजना छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा चाडपर्वको सुरक्षा योजना अन्तर्गत १०५ स्थानमा ‘क्युआरटी’ (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा ४७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बैंक तथा वित्तीय कारोबार धेरै हुने ४८ स्थानमा २१८ जना प्रहरीलाई खटाइएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।
यस्तै प्रदेशका सरकारी कार्यालय सुरक्षाका लागि ४४८ ठाउँमा एक हजार ४२० प्रहरी परिचालन गरिने डीआईजी कडायतले जानकारी दिए । उनका अनुसार ४२ ठाउँमा सादा पोसाकमा ११२ जना प्रहरी खटाइने छ भने २६५ वटा मोटरसाइकल गस्ती टोली बनाएर ४६१ जना प्रहरी खटाइने छ ।
१६० वटा पैदल गस्ती टोली बनाएर ४९१ जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा चौबिसै घण्टा ६३ ठाउँमा विशेष चेकिङ गरिने र त्यसका लागि २८७ प्रहरी परिचालन हुने जनाइएको छ । प्रदेशमा रहेका लोकमार्गमा पनि १५४ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा स्कर्टिङका लागि २७ वटा टोली बनाएर १५४ जना प्रहरी खटाइने छ । चाडपर्वमा ट्राफिक व्यवस्थापन गर्ने रणनीति अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली विभिन्न ठाउँमा रहने जनाइएको छ ।
प्रदेशभरि ५१ स्थानमा यात्रु सहायता कक्ष रहने र त्यसका लागि १६० जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन ४० वटा टोली गठन गरेर २१२ जना प्रहरी खटाइने जनाइएको छ । ग्रामीण क्षेत्रमा २७२ जना प्रहरीलाई गस्तीमा खटाइने भएको छ । चाडपर्वका बेला पुराना अपराधीहरू घर आउने सम्भावनालाई ध्यान दिँदै प्रहरी चनाखो भएको डीआईजी कडायतले बताए ।
उनले विशेष गरी दसैँ, तिहार जस्ता चाडमा अपराधमा संलग्न भएका व्यक्तिहरू घर आउने सम्भावना हुने भएकाले प्रदेश प्रहरीले पुराना फरार अभियुक्तको खोजी कार्यलाई पनि उत्तिकै महत्त्व दिने बताए ।