१० मंसिर २०८१, सोमबार

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाईंदै

आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । अस्ति विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । काठमाण्डौको असनका बासिन्दाले हिजो विजयादशमीको टीका लगाएका छन् भने पश्चिमी क्षेत्रका केही जिल्लामा भने विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ ।

यसैबीच दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ ।

तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।गएको असोज १०, ११ र १२ गतेको बाढ/पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

नवदुर्गाको प्रसादस्वरुप बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा छैन। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम आज पनि जारी छ। यो क्रम पूर्णिमासम्मै जारी रहन्छ।

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ। ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रुपमा लिने गरिन्छ।

 

 

  • २८ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech