९ मंसिर २०८१, आईतवार

“कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा महिला नेतृत्वलाई संस्थापक र पूर्व पदाधिकारीको समर्थन”
  • न्युज मानसराेवर

कोहलपुर, बाँके: कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारलाई संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, र महासचिवले भरपूर समर्थन जनाएका छन्। प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार अन्जना धिताललाई व्यवसायिक समुदायले नेतृत्वमा ल्याउनुपर्छ भन्ने धारणा राख्दै संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापाले महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ।

संस्थापक अध्यक्ष थापाले भने, “हामीले पटक-पटक पुरुषलाई नेतृत्वमा चुनेका छौं, अब भने कोहलपुर उद्योग वाणिज्य संघलाई महिला नेतृत्वको हातमा दिनुपर्छ।” उनले अन्जना धितालको समर्थन गर्दै भने कि, “महिलाले देश हाँक्न सक्छन् भने, उद्योग वाणिज्य संघ पनि किन नहाक्न सक्लान्?” थापाले महिलाहरूको क्षमतालाई उजागर गर्दै कोहलपुरका व्यापारीहरूलाई धिताललाई मतदान गर्न आग्रह गरे।

उनले कोहलपुरको व्यवसायिक क्षेत्रको विकासमा महिलाले नयाँ र फरक दृष्टिकोण ल्याउन सक्ने विश्वास व्यक्त गरे। थापाले व्यवसायिक समुदायले अब महिलाको नेतृत्वको अनुभव गर्न चाहेको बताए। उनले पुरूषहरूले गरेको कामको प्रशंसा गर्दै महिलाले पनि त्यस्तै प्रभावकारी कार्यक्षमता प्रदर्शन गर्ने अवसर दिनुपर्नेमा जोड दिए। संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्माले पनि यस पटक व्यवसायिक संघमा महिलाको नेतृत्व हेर्न आफू र कोहलपुरबासीहरू आतुर रहेको बताएका छन्।

उनले विगतमा पुरुषहरूले मात्रै संघको नेतृत्व सम्हालेको भन्दै अब महिला नेतृत्वलाई अघि बढाउनुपर्ने धारणा राखे। शर्माका अनुसार, कोहलपुरको व्यवसायिक समुदाय महिलाको नेतृत्वमार्फत् नयाँ दिशामा अघि बढ्ने छ। त्यस्तै, संघका पूर्व महासचिव विष्णु खनालले पनि अन्जना धिताललाई अध्यक्षमा देख्न चाहेको बताएका छन्। उनले धितालको नेतृत्वको प्रभावकारीता र प्रगतिशील व्यवसायिक प्यानलका उम्मेदवारहरूको समर्थनमा रहेको जानकारी गराए।

खनालले प्यानलका उम्मेदवारहरूलाई व्यवसायिक समुदायका हक र हितको लागि निष्पक्ष रूपमा क्रियाशील रहन आग्रह गरे। यसरी, कोहलपुर उद्योग वाणिज्य संघको चुनावमा महिला नेतृत्वको चर्चा व्यापक भइरहेको छ। अन्जना धितालको नेतृत्वमा संघको भविष्य कस्तो हुनेछ भन्ने विषयमा व्यवसायिक समुदायले चासोका साथ हेरिरहेको छ। थापा, शर्मा, र खनालजस्ता प्रमुख व्यक्तित्वहरूको समर्थनले धितालको उम्मेदवारीलाई थप बलियो बनाएको छ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech