२ कार्तिक २०८१, शुक्रबार

उमेरले छेकेन उद्यमशील वन्न नेपालगञ्जका यी कुम्हारलाई

बाँकेमात्र होइन अन्य जिल्लाका व्यापारीहरू पनि यस्तो माटोका भाँडाहरूको लागि उदयपुर आईपुग्छन

  • न्युज मानसराेवर

बाँके: नेपालगन्ज उपमहानगरपालिका–१३, उदयपुरका १२ वर्षीय नितेश कुम्हार आफ्नो अद्वितीय कला र परिश्रमले समाजमा उदाहरणीय बनेका छन। नितेश माटोबाट विभिन्न प्रकारका भाँडाकुँडा बनाउने गर्छन । सानै उमेरमै उद्यमी बनेका उनी बिहान र बेलुकाको समयमा माटोसँग खेल्दै सुन्दर भाँडा बनाउने गर्छन। मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत नितेशको विद्यालयपछिको अतिरिक्त समय माटोको भाँडा बनाउने काममै बित्ने गरेको छ।

सानै उमेरमा नितेशले देखाएको कलात्मक दृष्टिकोण र माटोसँगको सम्बन्धले उहाँलाई अद्वितीय बनाएको छ। बाल्यकालमै यस्तो दक्षता हासिल गर्नु प्रेरणादायक छ । उनको सिपले परम्परागत कुम्हार पेसालाई आधुनिक युगसँग जोड्दै आर्थिक रूपमा पनि परिवारलाई सहयोग गरेको देखिन्छ ।

नितेश जस्तै १८ वर्षीय सुरज कुम्हार पनि माटोबाट भाँडा बनाउने कार्यमा सक्रिय छन । सुरजले सानै उमेरदेखि यो कला सिक्दै अहिले दैनिक तीन सयवटा परम्परागत भाँडा बनाउछन। ‘यो पुर्ख्यौली पेशा हो, जसलाई मैले सानैमा सिकेँ, अहिले यहीँ पेसालाई व्यापारको रूप दिएका छौँ,’ सुरज भन्छन।

सुरजका अनुसार, पछिल्लो समय माटोको कुज्जा (कप) मा चिया, कफी, र दही खाने प्रचलन बढ्दै जाँदा यस्तो भाँडाको माग उच्च छ। बाँकेमात्र होइन अन्य जिल्लाका व्यापारीहरू पनि यस्तो माटोका भाँडाहरूको लागि उदयपुर आउने गरेको उनी वताउँछन ।

आफूहरूले पुर्ख्यौली कलालाई निरन्तरता मात्र नदिई आधुनिक बजारको मागलाईसमेत बुझ्दै परम्परागत कलालाई व्यापारमा परिणत गरिरहेको उनी बताउछन । यसले आफूहरूको आर्थिक अवस्था सुधार्न मद्दत गर्नुको साटो परम्परागत कुम्हार पेसाको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएको उनको बुझाई छ । नेपालगञ्जको  उदयपुरमा करिब १५–२० घरपरिवारले माटोको भाँडा बनाउने परम्परालाई निरन्तरता दिँदै आइरहेका छन ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech