६ कार्तिक २०८१, मंगलवार

दशैँको बेला ट्राफिक नियम विपरीत चलेका दुई हजार ६७७ सवारी साधन कारबाहीमा
  • न्युज मानसराेवर

नेपालगञ्ज : दशैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लंघन गरेर सवारी साधन जथाभाबी चलाउने कार्य ठुलो सङ्ख्यामा भएको पाइएको छ ।  प्रहरीले जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका दुई हजार ६७७ वटा सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२०८१ असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम विपरीत चलेका दुई हजार ६७७ वटा सवारी साधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले प्रहरीको सक्रियताकै कारण यति धेरै सवारी साधनलाई कारबाही गरिएको र सोही कारणले चाडपर्वको बेला दुर्घटना पनि कम भएको बताए ।

उनले चाडपर्वको सो अवधिमा भारतबाट अवैध आयात पनि बढ्ने अनुमान गरेर गरिएको कडाइका कारण प्रहरीले असोज महिनामा ३८ लाख ७८ हजार दुई सय रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा मोटरसाइकल र चार जना मानिस पक्राउ गरी भन्सारमा पठाइएको बताए ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech