१० कार्तिक २०८१, शनिबार

किन कार्यान्वयनमा आउन सकेको छैन नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र
  • न्युज मानसराेवर

बाँके:बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय एक दशक पुगिसक्दा पनि सार्थक कार्यान्वयनमा आउन सकेको छैन । नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा जग्गा संरक्षणसँगै सरकारको निर्णय कार्यान्वयनमा आउन नसकेको हो ।

अलपत्र अवस्थामा रहेको औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढाउन पछिल्लो पटक सरकारले विनियोजन गरेको १९ करोड बजेटसमेत उपयोग हुन सकेन । देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रियाले सार्थक कार्यान्वयन भइरहँदा बाँकेमा बजेट खर्चसमेत हुन नसकेको हो ।

औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिकरूपमा रु आठ अर्बको लागत अनुमान गरिएको थियो । एक दशकसम्म निर्माण अन्योल रहँदा लागत रकम बढ्ने निश्चित छ भने त्यहाँ स्थापना हुने भनिएका उद्योगहरू टाढिएका छन् । उद्योग स्थापनाका लागि मागिएको आशयपत्र आव्हानमा ३५० बढी व्यवसायीले उद्योग सञ्चालनका लागि इच्छा व्यक्त गरेका थिए ।

‘दलीय स्वार्थले नौबस्ता औद्योगिक क्षेत्र एक दशकसम्म अन्योल अवस्थामा परिरहेको हो,’ विकासका लागि नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विकासमा भइरहेको राजनीतिक स्वार्थको संघर्ष हटाउनुपर्ने धारणा राख्दै दैनिक नेपालगन्जसँग भने, ‘पछिल्ला दिनहरूमा क्रमशः सकारात्मक माहोल भन्दै गइरहेकाले अब बन्नेमा आशा बढेको छ ।’

अन्योलताको अवस्था लम्बिंदै जाँदा डीपीआरसमेत ‘रिभाइज’ हुने भएको छ । बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिएपनि कुनै प्रगति नभएको स्वीकार गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक ई। पदम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘डीपीआर रिभाइज गरेर परियोजना अगाडी बढाउनुपर्ने अवस्था छ ।’

डीपीआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको भएपनि राजनीतिक दबाब र प्रभाव बढ्दै जाँदा स्थानीय घरधनीको सङ्घर्ष समिति बनाउँदै औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी गर्न थालिएपछि समस्या सिर्जना भएको थियो । त्यससँगै औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिदै गएको हो ।

बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिगाह क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २ सय ५३ बिगाहमा खुम्चिएको अवस्था छ । सरकारले ०७३ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरी डीपीआर तयार पारे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । सो जग्गामध्ये ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई दिने निर्णय गरेपछि जग्गा खुम्चिन पुग्यो ।

त्यसले लुम्बिनी प्रदेशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न सरकारको योजना तुहिंदै गएको हो । औद्योगिक सहर नेपालगन्जभित्र औद्योगिक क्षेत्रमा विकास गर्न नसकिने अवस्था उत्पन्न भएपछि उद्योग व्यवस्थापन गर्न नौबस्तामा जग्गा खोजी गरि सरकारले उक्त निर्णय गरेको थियो ।

‘यो निर्णयको सार्थक कार्यान्वयनले बाँकेलाई औद्योगिक राजधानीका रूपमा अघि बढाउने सम्भावना रहन्थ्यो,’ राजनीतिक स्वार्थमा अल्झिएको विवादलाई दलहरूलेनै व्यवस्थापन गरि औद्योगिक क्षेत्र निर्माणको बाटो खोल्नुपर्ने सुझाव दिंदै संयोजक श्रेष्ठ भन्छन्, ‘शुक्रवारको निर्णयले केही सकारात्मक संकेत दिएको छ ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शुक्रवार जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुखसहित सरोकारवालाको बैठक आयोजना गरि ‘औद्योगिक क्षेत्र निर्माणको काम गर्न दिने की नदिने रु’ भन्ने बारे आफ्नो समन्वयात्मक छलफल आयोजना गरेको हो । एक महिना अघिमात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नौबस्ता औद्योगिक क्षेत्रमा अलपत्र भौतिक पूर्वाधार निर्माणबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरेको उच्चस्तरीय छलफलका निर्णयहरूलाई लिएर स्थानीयस्तरमा बैठक राखिएको महाप्रवन्धक ओलीले जानकारी दिए ।

‘कुनै अप्रीय अवस्था नआए अब काम गर्न सकिने भएको छ,’ बैठकको निर्णय के रह्यो रु भन्ने दैनिक नेपालगन्जको जिज्ञासामा महाप्रवन्धक ओलीले राजधानी काठमाडौंमा भएका सांसदस्तरीय बैठकका निर्णयमा स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य, वडातहका जनप्रतिनिधि राखेर अपनत्व लिने काम भएको बताए ।

जिल्लादेखि स्थानीय तहसम्मका राजनीतिक दलका प्रतिनिधि, बैजनाथ गाउँपालिकाका अध्यक्षसमेतको सहभागितामा भएको बैठकले अव्यस्थित जमिनको विषयमा अहिले केही नगर्ने भएको छ । ‘त्यसबारे भोलि सरकारले गर्ने निर्णय अनुसार वनले आवश्यक काम गर्छ,’ बैजनाथ पालिकाले निर्णय गरेर दिएको सिफारिसलाई कार्यान्वयनमा जाने गरि अव्यवस्थित वस्ती रहेको ५५. ६ विगाह जग्गा बाहेकको जग्गामा औद्योगिक क्षेत्र निर्माण गरिने निर्णय गरिएको महाप्रवन्धक ओलीले बताए ।

‘हामीसँग अब २ सय ५३।४ विगाह जमिन छ, त्यसमा नै औद्योगिक क्षेत्र निर्माण गर्न सकिने भयो,’ शुक्रवारको सहमति अनुसार, काम सुरु गर्न सक्ने अवस्था बनेको जानकारी दिंदै महाप्रवन्धक ओलीले वस्ती र औद्योगिक क्षेत्र बन्ने जमिनका बीचबाट पहिले ट्रयाक खोलेर घेरबार गर्ने काम अगाडी बढाइने बताए । ओलीले भने, ‘डीपीआर रिभाइज गर्ने कामका लागि बजेट छ, आजको बैठकको निर्णयपछि अन्यथा भएन भने सर्वसम्मत रूपमा काम गर्न सक्ने वातावरण बनेको छ ।’

  • १० कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech