९ मंसिर २०८१, आईतवार

सस्तोमा धान बिक्री गर्न बाध्य बाँकेका किसान

सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता

  • न्युज मानसराेवर

नेपालगञ्ज : पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद कार्य शुरु नगर्दा व्यापारीहरुले सस्तो मूल्यमा धान खरिद गरिरहेकोले बाध्य भएर बिक्री गर्नुपरेको जनाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुुरु नगरेकोले स्थानीय किसानले सरकारले तोकेको मूल्यभन्दा सस्तोमा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बाँके नौबस्ताका किसान शङ्करसिंह थारुले बताए । उनले सरकारले यस वर्ष मोटो धानको मूल्य प्रति क्विन्टल तीन हजार ४१० रुपैयाँ तोकेकोमा व्यापारीले तीन हजारभन्दा बढीमा खरिद नगर्दा ४०० रुपैयाँ नोक्सानी सहनुपरेको बताए ।

चाडपर्वको समयमा पैसाको आवश्यकता परेकोेले धान बिक्री गर्नुपरेको जनाउँदै किसान थारुले सरकारले मूल्य तोक्नुका साथै शुरुबाटै धान खरिद पनि सुरु गर्नुपर्ने माग गरे । सोही प्रकारले बाँके जानकी ५ का किसान रामनरेश यादवले पैसाको जरुरी काम परेको बेला सरकारले तोकेको मूल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता आएको बताए ।

उनले सरकारले तोकेको मूल्यमा नै धान खरिद गर्नका लागि व्यापारीहरुको मिलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नु आवश्यक रहेको बताए । अहिले बाँकेका विभिन्न स्थानमा सरकारले तोकेको भन्दा प्रति क्विन्टल ४०० रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेका छन् । नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रति क्विन्टल तीन हजारभन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिएपनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकोले धान खरिद सुरु नभएको बताए । उनले कोटा निर्धारण गरेर केन्द्रबाट खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि किसानका धान सरकारी दररेटमा खरिद गरिने बताए ।

धानखेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको छ । यस वर्ष बाँकेमा गत वर्षभन्दा १५ प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

  • ११ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech