डुडुवा ,बाँके : बाँकेको डुडुवा गाँउपालिका–१ बार्डर चौफेरीका प्रेम नारायण यादवको घरमा फुसको छानो छ । टाटीले बनाएको फुसको घर देखेर तिन वर्षअघि भोट माग्न आउँदा नेताहरूले घर बनाइदिने आश्वासन दिएका थिए । चुनाबका बेला आएका नेताहरुको कुरा सम्झिदै यादव भन्छन्, ‘अब यस्तो घरमा बस्नुपर्दैन । हामी राम्रो बनाइदिन्छौँ भनेका थिए ।’ तर, चुनाव सकिएपछि उनको घरमा नेता फर्किएन्न । ‘घर बनाइदिन्छु भनेर गएका नेताजीहरू फर्किएरै आउनु भएन । मेरो घर अहिले पनि उस्तै छ,’ उनी भन्छन्, ‘बर्खामा पानी चुहिन्छ, फुसको छानोमुनिबाट प्लास्टिक लगाएर पानी छेकेको छु ।’
उनको घरवरिपरि पनि बाँसको भाटाले बेरेको छ । हिउँदको शीतलहर र बर्खाको झरी रुझेरै कट्छ । बार्डर चौफेरीमा ४२ घर छ भने सबैको अवस्था यादवको जस्तै छ । यादवले भने, पहिलो पटक भएको स्थानीय निर्वाचन पछि निर्वाचित भएका नेताहरुको आसैआसमा बित्यो । यादवको गाँउ नेपाल–भारत सीमाको दशगजानजिकै पर्छ । निर्वाचनताका गाँऊ अगाडि निस्कने बाटो बनाइदिने प्रतिबद्धता जनाएर गएका नेता चुनावपछि गाउँमा पसेका छैनन् । ‘बर्खामा यहाँ बाटो नै हुँदैन । पहिला चुनावको वेला बाटो बनाइदिन्छु भन्ने नेताजीहरू चुनाव सकिएपछि आउनुभएन,’ उनले भने, ‘बर्खामा नेपालगंज बजार जाने बाटो निस्कन पनि भारततिरको बाटो भएर जानुपर्छ ।’
गाउँमा अधिकारसहितको सरकार आएको सात वर्ष भयो । तर, डुडुवा– १ कृषि चौफरीका ८० वर्षीय फकिरे यादवको जीवनमा केही परिवर्तन आएको छैन । भत्कन लागेको घर फेरिएको छैन । टाटीले बारेको घरबाट पस्ने झरी र शीतलहरलाई उसै गरी झेलिरहेका छन्, फकिरे । २०७४ को निर्वाचनअघि पनि बर्खामा एक महिनाजति फकिरेको परिवारको वास बाढीबाट जोगिनका लागि बनेको घरमा हुन्थ्यो । अहिले पनि उस्तै छ ।
‘स्थानीय तह भईकन के परिवर्तन भयो र ? बर्खामा बाढीले गाउँ नै डुबाउँछ । अहिले पनि उस्तै छ । नेताजीहरूले नदीमा तटबन्ध पनि गरेनन्,’ उनी भन्छन, ‘२०७९ मा पनि घर बनाइदिने, बाँध बाँधिदिने, गाँउमा बिद्यालय खोलिदिने, बिद्युत लाईन गाँउ सम्म पु¥याइदिने भन्दै मिठो बाचा गरे । तर निर्वाचित भई सके पछि फेरि पनि २०७४ को जस्तै बिर्से !’
डुडुवा गाउँपालिका–१ चौफेरीका स्थानीय प्रलहाद यादवलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको अनुभूति हुन सकेको छैन । राजनीतिक दलहरूले सात वर्षअघि संघीयता कार्यान्वयनको खुड्किलास्वरूप भएको निर्वाचनमा स्थानीय तहलाई राजनीतिक दलले ‘गाउँ–गाउँमा सिंहदरबार’को विशेषण दिए । अर्थात्, सिंहदरबारको अधिकार गाउँसम्म आयो । गाउँ सरकारले नै सबै जनताका न्यूनतम आवश्यकता पूरा गर्छन् भनिएको थियो । तर, प्रलहादको घरसम्म गाउँको सिंहदरबार आइपुगेको छैन ।
घरमा सिंहदरबार आएको भए उहाँलाई कष्टपूर्ण अवस्थामा बस्नुपर्ने थिएन । खरले छाएको पुरानो कमजोर घर थियो । साउनको अन्तिममा आएको बाढीले त्यो छानो पनि भत्काईदियो । उनको मात्र हैन, बाक्लो यादव समुदायको बस्ती रहेको यो गाउँमा साउनको अन्तिम साताको बाढीले अधिकांश घरमा क्षति पुर्यायो ।
‘सरकारले घर बनाइदिन्छ भन्थे । चुनाव जितेपछि त केको बनाइदिने रहेछन् र ! गाउँमा एक–दुईवटा घरमा टिन दिए । हाम्रोतिर त न टिन दिए, न त घर नै बनाइदिए,’ उनी भन्छन, ‘पानी चुहिने छानोमा दिन रात कटाउन बाँध्य छौ । बनाउनलाई पैसा छैन । भैसीको दुध बेचेर आठजनाको परिवार चलाउनुपर्छ । पैसा नभएपछि यस्तैमा बस्नुपर्यो नि !’
यो बस्तीमा बर्खामा सधैँ राप्ती नदीको भंगालो पस्छ । हिउँदमा शीतलहर, बर्खामा बाढी र चैत–वैशाखमा हावाहुरीले उनीहरूको घर भत्काउने गरेको छ । यादवले भने,‘हिउँदमा शीत चुहिएर साह्रै गाह्रो हुन्छ । बर्खामा घरभरि पानी पस्छ । बाढी प्रभावितहरुको वास हुन्छ । चैत–वैशाखमा हावाले छानो नै उडाएर लैजान्छ ।’
यादव समुदायिक अगुवा देशरानी यादवका अनुसार छिटैपूर्वा देखि बार्डर चौफेरी सम्म १८० भन्दा बढी यादव समुदायको घर छ । जसमा १४० भन्दा बढी घर कमजोर छन् । ती सबै राज्यले बनाइदिनुपर्ने उनको भनाइ छ ।
सात वर्षमा स्थानीय सरकारले गाउँमा एक ट्रली माटो पनि हालेको छैन भने स्थानीय विपन्नको जीवनस्तर उकास्ने काम नगरेको स्थानीयहरुको भनाई छ । विगतमा घर बनाइदिने, रोजगारी दिने, नदी तटबन्ध गर्ने वाचा गरेर ०७४ र २०७९ मा जितेकाहरु फेरी २०८४ मा त्यही मुद्दा लिएर भोट माग्न गाउँ पस्ने होलान तर हामी अब मुर्ख हुने छैनौ ।
‘वर्षैपिच्छे गाउँमा बाढी आउँछ । स्थानीयले दुःख पाइरहेका हुन्छन । बस्ने गतिलो घरसमेत छैन । सरकारले भनेअनुसार जनताले केही पाएका छैनन् ।’ डुडुवा–१ बार्डर चौफेरीकि महिला स्वयम सेविका मिरा यादवले भने, ‘बाँध नबनाउँदा गरिबले गरेको खेती बगाएर लैजान्छ । तर सरकार मौन भएर बसेको छ । हाम्रो लागि बोलिदिने कसले ?