बाँके\भारतसँग सिमाना जोडिएको बाँके जिल्लामा ३४८ जना डेंगुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बाँकेमा पछिल्लो समयमा डेंगुबाट सङ्क्रमित हुनेहरू निरन्तर बढ्दै गएको जनाउँदै गत तीन महिनामा मात्र ३४८ जनालाई डेंगु सङ्क्रमण भएको जानकारी गराए ।
चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जना डेंगुबाट सङ्क्रमित भएपछि अवस्था अति नै गम्भीर बन्दै गएको देखिएको जनाउँदै किटजन्य रोग फोकल पर्सन गौतमले यस्तै रहे अवस्था भयावह बन्न सक्ने उल्लेख गरेका छन।
गत आर्थिक वर्ष २०८०–०८१ मा वर्षभरि गरेर ३९४ जना डेंगी सङ्क्रमित फेला परेको जनाउँदै स्वास्थ्य कार्यालयले यस वर्ष भने यो सङ्ख्या दोब्बर भन्दा बढी पुग्ने देखिएको छ ।