नेपालगञ्ज : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्धितीया अर्थात् ‘भैया दुईज’मा भुर्की पुजन गरि दिदीबहिनीहरुले आ–आफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन् ।
घरको आंङ्गनमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र कोरेर, नदी तलाउ, मधेसी समुदायमा पर्बत, बाघ, भालु, सर्प, बन जगंलको चित्र बनाएर जंगलमा पाईने कुश लगायत बिभिन्न कांडाहरु राखी त्यसमाथि सिलौटा राखेर पुजा गर्ने प्रचलन छ ।
उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाईको मुर्ति बनाई पुजा गरिन्छ । गाउँ टोलका सम्पुर्ण महिलाहरु एकजुट भई सामूहिकरुपमा भुर्की पुजन गर्दछन् । पूजाको क्रममा भाईबहिनीको सुख, समृद्धि र शान्तीका लागि बिभिन्न कथा, कहानी सुनाउने गरिएको डुडुवा गाउँपालिका वडा नं. ६ की किरण मिश्राले बताइन् ।
भुर्की पुजनका क्रममा दिदीबहिनीहरुले विहानैदेखि ब्रत बसेर आ—आफनो दाजु भाईको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगतिलगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार सच्चिदानन्द चौबेले बताए ।
आज पुजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजुभाईहरुलाई कात्तिक पुर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटिकाको मुख्य साइतमा भुर्की पुजनको कार्य गरिएको अवधी साहित्यकार विष्णुलाल कुमालले बताए । दाजुभाईको सुख, शान्ति, उन्नती र दिर्घायुका लागि पुजा गरेर भुर्की च्युरा खुवाई टिका लगाई दिएको डुडुवा–६ की प्राँची मौर्यले बताइन् ।