रुपन्देही:तस्करीको सामान नियन्त्रणमा लिने सुरक्षाकर्मीमाथि रुपन्देहीमा आक्रमण भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित मुझानमा तस्करको समूहले सशस्त्र प्रहरीका सुरक्षाकर्मी सवार गाडीमा ढुङ्गामुढा गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरीको टोली भन्सार छलीको सामान नियन्त्रणमा लिएर फर्किने क्रममा तस्करको समूहले आक्रमण गरेको हो । प्रहरी सवार गाडीमाथि उनीहरूले ढुङ्गामुढा प्रहार गरेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाबहादुर थापाले राजस्व छलीको चिनी बरामद गरेर फर्किने क्रममा संयुक्त टोलीमाथि ढुङ्गामुढा भएको पुष्टि गर्नुभयो ।
मुझानमा राजस्व छलेर चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाका आधारमा संयुक्त टोली पुगेको थियो । राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राजबहादुर विष्टसहित चार जना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी एकाइ बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमान्डमा १० जनाको टोलीले चिनी नियन्त्रणमा लिएको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी प्रहार भएको हो ।
बिहीबार बेलुकी ५ बजे गस्ती टोलीले चिनी नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । साँझ ६ बजे टोलीमाथि आक्रमण भएको हो । उक्त स्थानमा स्थानीयको भिडले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनी रुपन्देहीको ना. १ झ १४७७ नम्बरको गाडीको दायाँतर्फको झ्यालको दुइटा सिसा पूर्ण रूपमा फुटेर क्षतिग्रस्त भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेड क्वाटर रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र राजस्व प्रहरी एकाइ बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेकोे छ । घाइते सुरक्षाकर्मीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपश्चात् सम्बन्धित कार्यालयमा फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।