२९ कार्तिक २०८१, बिहीबार

नेपालगन्ज ल्यान्डफिल : फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकोमा अहिले ३० जना मात्र कार्यरत

  • न्युज मानसराेवर

नेपालगन्ज: ३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ।  नेपालगन्ज उपमहानगरपालिका–१३ र २३ को सिमानामा १३ बिघा क्षेत्रफलमा एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपियाँको लागतमा निर्माण गरिएको ल्यान्डफिल साइट प्रयोगविहीन बनेको हो ।

ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगे पनि अहिलेसम्म फोहोर प्रशोधन सुरु नगरिँदा फोहोर प्रशोधन गर्ने मेसिनमा खिया लागेको छ ।  कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने वस्तुलाई पेलेर कम्पोस्ट मल बनाउन प्रयोग हुने मेसिन अझै सञ्चालनमा आएका छैन । मेसिन नचलेकै कारण कामदारबाट फोहोर व्यवस्थापन र प्रशोधनका काम नभएको कर्मचारीहरूले बताएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर प्रशोधन गरिनुपर्नेमा काम हुन नसकेको नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न सकिएको छैन । प्रशोधन गर्न नसकेकै कारण कुहिने र नकुहिने वस्तु एकै ठाउँमा भण्डारण गर्नुपरेको छ ।

इन्जिनियर डिसीले मेसिन बिग्रिन नदिन समय–समयमा चलाउने गरिएको जनाउँदै प्रशोधनको काम भने हुन नसकेको बताउनुभयो । ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकोमा अहिले ३० जना मात्र कार्यरत छन् ।

ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । मेसिन र उपकरण यत्रतत्र छरिएका छन् । कतिपय मेसिन त काम नलाग्ने अवस्थामा पुगेको वडा नं २३ का वडाध्यक्ष अब्दुल जब्बार शेषले बताउनुभयो ।

ल्यान्डफिल साइटमा फोहोर थुपार्न चार वटा सेल बनाइएको छ । एउटा सेलमा करिब आठ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको थियो । तर, ती सेलमध्ये एउटा सेल चार वर्षमै भरिएको छ । कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा फाल्दा ल्यान्डफिल साइट दुर्गन्धित बनेको छ ।

वडा अध्यक्ष शेषले कार्यपालिका बैठकमा पटक पटक कुरा उठाउँदा समेत सुनवाइ नभएको गुनासो गर्नुभयो । नेपालगन्ज उपमहानगरले ०७९ मङ्सिरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । त्यही प्रयोजनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन उपलब्ध गराएको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरबाट निस्कने फोहोर व्यवस्थापन गर्न ०७६ सालमा यो ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech