२९ कार्तिक २०८१, बिहीबार

सुर्खेतमा जैविक कृषि गरेर आफ्नो भविष्य खोज्दै कालिकोटका गिरी

उचित बजारीकरण र व्यवस्थापन नहुँदा कम मूल्यमा उत्पादन बेच्न किसानहरू बाध्य

  • अप्सरा विष्ट

सुर्खेत: कालीकोटका ३० वर्षीय युवक जीवन गिरी सुर्खेतमा जैविक कृषि गरेर आफ्नो भविष्य खोजिरहेका छन् । जमिन भाडामा लिएर जीवनले कृषिमा आधुनिक प्रविधि प्रयोग गरेर जैविक खेती गरेका छन् । कृषिबाटै आर्थिक उपार्जन गर्न उनले १ बिघा १० कठ्ठा जमिनमा व्यवसायिक तरकारी र फलफूल खेती गर्दै आएका छन् । उनले खेतीमा रासायनिकको सट्टा जैविक मलको प्रयोग गरेका छन् ।

जीवन कृषिमा जैविक खेती गर्न चुनौतीपूर्ण रहेको बताउँछन् । यसको लागि जमिन अभाव, सीमित बजेट र पर्याप्त प्राविधिक ज्ञानको कमी चुनौती रहेको उनको भनाइ छ । कर्णालीको पहाडी भूभाग र प्रतिकूल मौसमले पनि जैविक खेतीको सुरुवाती दिनमा समस्या पारेको उनी बताउँछन् ।

‘रासायनिक मलले तत्काल उत्पादन बढाउने भए पनि यसले माटोमा दीर्घकालीन असर पुर्‍याउँछ’, उनी भन्छन्, ‘जैविक मलले भने माटोको उर्बरा शक्तिमा सुधार ल्याउँछ र उत्पादन पनि स्वास्थ्यमैत्री हुन्छ ।’ उनले बजारमा जैविक उत्पादनको माग पनि बढी रहेको सुनाए । ‘जैविक खेतीमा लगानी बढि लाग्छ, तर यो पर्यावरणमैत्री र स्वस्थकर हुन्छ’, जीवनले भने, ‘जैविक उत्पादनको बजार राम्रो छ । उपभोक्ताहरू जैविक उत्पादनमा आकर्षित छन् ।’

जैविक उत्पादनमा लगानी बढाउन सकिए बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ । गिरीले सुर्खेतस्थित आफ्नो फर्ममा निरन्तर सुधार गरिरहेका छन् । उनको फर्मबाट मुख्यतः टमाटर, खुर्सानी, काँक्रा, सिमी जस्ता तरकारी उत्पादन हुन्छ । फर्मको लागि आवश्यक जैविक मलको माग पूर्ति गर्न उनले गाईभैंसी तथा बाख्रापालन गर्ने योजना बनाएका छन् ।

‘फर्मको लागि आवश्यक जैविक मलको स्रोत स्थिर राख्न पनि पशुपालन गर्नुपर्ने देखियो । बाहिरबाट जैविक मल किन्न नपर्ने भएपछि यसले उत्पादन लागत कटौतीमा सहयोग पुर्‍याउँछ’, जीवनले भने, ‘पशुपालनले स्थानीय रोजगारी सिर्जना गर्दै युवाहरूलाई कृषिमा आकर्षित गर्न पनि सघाउँछ ।’

जीवन कृषिमा युवालाई आकर्षित गर्न संघ प्रदेश र स्थानीय सरकारले कृषिमा प्रत्यक्ष सहयोग गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘सरकारले किसानहरूको लगानी सुरक्षित बनाउन बीमा, अनुदान, सस्तो ब्याजमा ऋण सुविधा र बजार सुनिश्चित गराउनुपर्छ । यस्ता सुविधाले युवाहरुलाई कृषिमा आकर्षित गर्छ र कृषिबाट आर्थिक समृद्ध हासिल गर्न सघाउ पुग्नेछ ।’

जीवनले कीटनाशक विषादी तथा रासायनिक मलको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएकाले तीनै तहका सरकारले जैविक खेतीमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले साना किसानलाई जैविक खेतीबारे तालिम र प्राविधिक ज्ञान दिनसमेत आवश्यक रहेको औंल्याए ।

सरकारले बजार सुनिश्चित गरे कृषि उत्पादन बढ्ने उनको भनाइ छ । उनका अनुसार बजारसम्म किसानको सहज पहुँच नहुँदा उनीहरुले चाहेर पनि उत्पादन बढाउन सक्ने अवस्थामा छैनन् । ‘यहाँका किसानका उत्पादनले बजार र राम्रो मूल्य पाउन सकेको छैन । उचित बजारीकरण र व्यवस्थापन नहुँदा कम मूल्यमा उत्पादन बेच्न किसानहरू बाध्य छन्’, जीवनले भने ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech