नेपालगन्ज:नेपालगन्ज–गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा स्थिति पेडारी नालामा सवारीसाधन र यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन् । खजुराबासीले पुलका लागि यसअघि पटकपटक माग गरेपनि त्यसको ठोस सुनुवाई हुन सकेको छैन ।
संघीय सांसद दीपा शर्माले पेलारी नालाको अनुगमन गर्दै एक बर्ष भित्र निर्माण हुने गरी प्रयास थालेको बताएकी छिन् । पेडारी नालामा पुल निर्माणको विषयलाई लिएर केही दिन पहिले मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केदार शर्मा र डिजी रामहरि पोख्रेललाई भेटर पुल निर्माण कार्य अगाडि बढाउन पहल गरेको सांसद शर्माले बताइन् । ‘मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरि अगाडि बढाउन निर्देशन दिनुभएको छ’, सांसद शर्माले भनिन् ।
सांसद शर्माले बाँकेका विभिन्न विकास निर्माणका कामको अवलोकन गर्ने क्रममा हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको नाजुक अवस्था हेरेपछि पहल थालेको बताइन् ।
हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जले ११ करोडको लागत ३३ मिटर लम्बाई र २२ मिटर चौडाई रहने गरि डिजाइन स्टमेट गरि बहुवर्षीय योजना अन्तरगत स्वीकृतिको लागि विभागमा पठाइएको कार्यालय प्रमुख लिलाराज भण्डारीले जानकारी दिए । उनले यो पुल बक्स पुल हुने र लागत स्टमेट सबै विभागमा पेश भएकोले स्वीकृत भएर आवश्यक बजेट आएको खण्डमा ७ महिनामा काम सकिने बताए । ‘हालसम्म स्वीकृत भएको छैन,’ प्रमुख भण्डारीले भने ।
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज शर्माले विकास निर्माणका योजना विशेषगरि अधुरा योजना आफ्नो नजरमा पर्ने गरेको बताइन् । उनले परसपुर–गैघाट सडक खण्डको निर्माण तत्काल अगाडि नबढाए ठेक्का रद्द गरेर भए पनि अर्को निर्माण कम्पनीमार्फत गर्नुपर्ने सुझाव सम्बद्ध निकायलाई दिएको बताउँछिन् ।