काठमाडाैं :नेपालमा आज साँझदेखि अर्को मौसम प्रणाली भित्रिने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज (शुक्रबार) र भोलि (शनिबार) देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार बुलेटिन सूचना जारी गर्दै शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको जनाएको हो ।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम र कर्णालीका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेश र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ’, विभागको सूचनामा भनिएको छ ।