६ बैशाख २०८२, शनिबार

बिउबिजनमा पनि नेपाल परनिर्भर
  • न्युज मानसराेवर

बाँके\नेपालमा  बिउबिजन आयात बढ्दो क्रममा छ। बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार पछिल्ला केही वर्षदेखि लगातार बिउ आयात बढिरहेको हो। चालु आर्थिक वर्षको आठ महिनामा सवा दुई अर्ब रुपैयाँको बिउबिजन आयात भएको भन्सार विभागको तथ्यांक छ। फागुनसम्ममा दुई अर्ब १३ करोड रुपैयाँको चार हजार पाँच सय ८३ टन बिउबिजन आयात भएको छ।

चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढी मकैको बिउ आयात भएको छ। यस अवधिमा एक अर्ब ३० करोड ४२ लाख रुपैयाँको तीन हजार ४ सय ८८ टन आयात भएको छ। धानको बिउ १६ करोड ५८ लाख रुपैयाँको चार सय १० टन आयात भएको छ। यसैगरी हरियो तरकारीको बिउ ६० करोड ७ लाख रुपैयाँको ३ सय १८ टन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २० करोड ५१ लाख मूल्यको ६ हजार ७४० टन बिउ आयात भएको थियो। यसमध्ये पाँच हजार नौ सय ८८ टन खाद्यान्न र पाँच सय ६९ टन तरकारीको बिउ आयात भएको विभागको तथ्यांकमा छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  दुई अर्ब ६३ करोड ४७ लाख मूल्यको ५ हजार ७ सय ७२ टन बिउ आयात भएको थियो। आव २०७९/८० को तुलनामा २०८०/८१ मा बिउको परिमाण नौ सय ६८ टन बढ्दा ५७ करोड रुपैयाँभन्दा बढी पैसा विदेशीको विभागले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड ४७ लाख रुपैयाँको पाँच हजार पाँच सय पाँच टन बिउ आयात भएको थियो । यसैगरी २०७७/७८ मा दुई अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बिउ आयात भएको विभागको तथ्यांकमा छ। आव २०७६/७७ मा एक अर्ब ६४ करोड ७२ लाख रुपैयाँको बिउ नेपाल भित्रिएको विभागको तथ्यांकमा छ।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित

  • Nabintech