बाँके\सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले भुक्तानी रोकेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार राति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का गरेको हो । घाटा बजेट ल्याएका कारण लुम्बिनी प्रदेश सरकारले गत वर्ष पनि असार २२ गतेपछि भुक्तानी रोकेको थियो ।
गत वर्षको २ अर्ब १९ करोड रकम चालु आवमा भुक्तानी गरिएको थियो । चालु आवमा पनि घाटा बजेट भएकै कारण खातामा रकम सकिएपछि भुक्तानी रोक्नु परेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।
लुम्बिनी प्रदेश सरकारले चालु आवका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । त्योमध्ये पुँजीगत तर्फको २४ अर्ब ५८ करोडमध्ये आइतबारसम्ममा १७ अर्ब २९ करोड खर्च भएको छ ।
त्यस्तै, चालुतर्फको ११ अर्ब २४ करोडमध्ये ७ अर्ब ४ करोड खर्च भएको छ । स्थानीय तहमा जाने ३ अर्ब १४ करोडमध्ये २ अर्ब ४१ करोड भुक्तानी भएको छ । चालु आवमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तीमा २ अर्ब भुक्तानी दायित्व थपिएको छ । प्रदेशले चालु आवमा आन्तरिक स्रोतबाट ४ अर्ब ७१ करोड राजश्व संकलनको लक्ष्य राखेको थियो । त्योमध्ये पनि अहिलेसम्म १ अर्ब ५० करोड पनि संकलन हुन सकेको छैन । लक्ष्य अनुसारको आन्तरिक राजश्व पनि संकलन हुन नसकेपछि सरकारको सञ्चित कोषमै रकम सकिएको हो ।