बाँके\बाँके जिल्लामा सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै बढ्दै गएको छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लामा रक्तदान गर्नेभन्दा रगतको माग बढी हुने गरेका कारण सधैँ रगतको अभाव हुने गरेको बताएका छन।
तेइस हजार पिन्ट रगत वितरण
नेपालगन्जस्थित भेरी अस्पतालको प्राङ्गणमा रहेको प्रादेशिक ब्लड बैङ्क र सोमातहतमा कोहलपुर तथा खजुरामा रहेका ब्लड सङ्कलन केन्द्रबाट एक वर्षमा २३ हजार पिन्ट रगत वितरण गरिएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा केन्द्र तथा सोमातहतका कोहलपुर र खजुरामा रहेका एकाइबाट २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको हो ।
बाँके जिल्लामा गत आवमा १६ हजार १५१ पिन्ट रगत विभिन्न दाताबाट सङ्कलन गरिएकोमा आवश्यकता अनुसार आरबिसी (रातो रगत) र डब्लुबिसी (सेतो रगत) बनाएर २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आवमा प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जमा ११ हजार आठ पिन्ट रगत सङ्कलन भएकोमा १५ हजार नौ सय पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको थियो । यसै गरी रक्तसञ्चार एकाइ कोहलपुरमा चार हजार १६ पिन्ट रगत सङ्कलन भएकोमा पाँच हजार १७४ पिन्ट वितरण गरिएको थियो ।