१९ कार्तिक २०८२, मंगलवार

बाँकेमा ३७ करोड हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिनाको अभियोगमा तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन् ।

अदालतको फैसला कार्यान्वयन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बाँके जिल्ला अदालतका सूचना अधिकारी तिर्थराज आचार्यले उनीहरु पक्राउ परेको जनाएका छन् ।अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेपछि चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । तीमध्ये सात जनाले कैद र जरिवाना भुक्तान गरिसकेका छन् भने अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकाहरूसँग पनि बिगो उठाउन बाँकी रहेको अदालतले जनाएको छ ।२०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो। २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो ।त्यसपछि २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउन आदेश दिएको छ ।

जिल्लाको ठूला सहकारीमध्ये एक मानिने यस संस्थामा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् । त्यसमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत गरेका छन् । अध्यक्ष चौधरीसहितका तीनै जना मधेस केन्द्रीत विभिन्न दलबाट राजनीति गरेका पात्र हुन् ।

अदालतको पक्राउ आदेश भएपनि उनीहरु बजार क्षेत्रमै रहेका थिए । स्थानीयका अनुसार लामो समय बचतकर्ताले यहाँ रहेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । यसअघि अध्यक्ष चौधरीले आफ्नो सम्पति बेचेर भएपनि तिर्नेगरी कागज गरेर केही समय सहकारी संचालन गरेका थिए तर पुनः मुद्धा परेपछि बचतकर्ताको रकम थप अन्यौलमा परेको हो ।

  • २० भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech