२८ आश्विन २०८२, मंगलवार

विष्णु चौधरी पुष्पखेती लोभलाग्दो पुष्पखेती
  • न्युज मानसराेवर

बाँके\पछिल्लो समय बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण हुँदै गएपछि अन्य महिला पनि उत्साहित हुँदै यसतर्फ आकर्षित हुन थालेका छन् ।

कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट आम्दानी हुन थालेपछि आफू पनि यसमा लागेको बताइन् । उनी आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहेकिछन् । त्यसका लागि रु ६० हजारमा जग्गा भाडामा लिएकी छन् । चौधरीका खेतमा हाल टेनिस बल र कर्मा ५५५ जातका सयपत्री प्रजातिअन्तर्गतका फूल रहेका छन् ।

कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताइन् । यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उनले सुनाइन् ।

करिब १० क्विन्टल फूलको व्यापार हुने चौधरीको अनुमान छ ।“मेरो खेतमा पनि यस पटक राम्ररी फूलका बिरुवा उम्रेनन् । प्राविधिक ल्याएर काम गरेको थिए, तर ब्याडमा झार उम्रेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे”, उनले भनिन् ।आफूले उत्पादन गरेको फूल दाङ, सुर्खेत, धनगढी, बुटवललगायत जिल्लामा बजारीकरण गरिएको जानकारी दिँदै चौधरीले पुष्पखेतीसँगै नर्सरी स्थापना गर्ने योजना रहेको पनि सुनाइन् ।

नेपाल भारत सीमा क्षेत्रमा रहेकाले भारतबाट आयात हुने फूलका कारण प्रतिस्पर्धा गर्न भने समस्या हुने गरेको उनको गुनासो छ ।“हामीले जेनतेन सीमित स्रोतसाधनका आधारमा फूलको उत्पादन गर्छौँ, तर भारतबाट फूल आउँदा त्यसको प्रत्यक्ष मारमा पर्छौँ”, चौधरीले भनिन् ।

हाल यहाँ प्रतिकिलो रु ४०० मा फूल बिक्री भइरहेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगरले  सीमापारिबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको बताइन् ।

यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको स्थानीय प्रशासनबाट नियमन हुनुपर्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले पुष्पखेती गर्ने किसान बाँकेमा सीमित सङ्ख्यामा रहेको उल्लेख गर्दै पुष्पखेतीका लागि सरकारले पनि सहजीकरण गरिरहेको बताए । गत वर्षको विवरणअनुसार  बाँकेमा १७ जना महिला किसान यस व्यवसायीक पुष्पखेतीमा संलग्न रहेका उनले बताए ।

  • २८ आश्विन २०८२, मंगलवार प्रकाशित

  • Nabintech