१२ जेष्ठ २०८३, मंगलवार

इरान-अमेरिकाबीच कतारमा निर्णायक वार्ता, तेहरानमा ८७ दिनपछि इन्टरनेट खुल्यो
  • न्युज मानसराेवर

एजेन्सी\इरानका वार्ताकारहरू कतार पुगेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफ कतारका प्रधानमन्त्री र विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटघाटका लागि कतार गएको रोयटर्सले जनाएको छ ।

इरानको केन्द्रीय बैंकका गभर्नर पनि प्रतिनिधिमण्डलको हिस्सा रहेको बताइएको छ । हाल कतारमा इरान र अमेरिकाबीच शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार पार्न गहन र तीव्रताका साथ वार्ता जारी छ ।

छलफलहरू हर्मुज जलमार्ग, इरानको अत्यधिक समृद्ध युरेनियमको भण्डार र बृहत् सम्झौताको एक भागको रूपमा जमेको इरानी कोषको सम्भावित रिलीजमा केन्द्रित हुने अपेक्षा गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएका थिए ।

वार्तामा प्रगति भएको संकेत देखिए पनि युद्ध अन्त्य गर्ने सम्झौताका कतिपय प्राविधिक बुँदाहरू, विशेष गरी इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवा गर्ने सर्तहरूको भाषिक विवादका कारण प्रक्रिया केही लम्बिएको अमेरिकी अधिकारीहरूले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रहेको उच्च समृद्ध युरेनियम कि त अमेरिकालाई सुम्पेर नष्ट गर्नुपर्ने, अन्यथा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा आयोग वा सोसरहको निकायको रोहबरमा सुरक्षित स्थानमा नष्ट गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याएका छन् । कूटनीतिक वृत्तमा इरानले आफ्नो युरेनियमलाई ‘डिल्युट’ गर्ने वा रसियाजस्तो तेस्रो मुलुकमा पठाउने विकल्पमा सहमति जनाउन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले विगत ८७ दिनदेखि मुलुकभर जारी रहेको इन्टरनेट ब्ल्याकआउट अन्त्य गरी सेवा सुचारु गर्न सञ्चार मन्त्रालयलाई आदेश दिएका छन्। महिनौँको इन्टरनेट प्रतिबन्धले गर्दा नागरिकहरू सूचना पाउनबाट वञ्चित हुनुका साथै व्यावसायिक क्षेत्रले समेत ठूलो क्षति व्यहोर्नुपरेको थियो।

  • १२ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech