नेपालगन्ज । हालसम्म पनि पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले असार १५ गते धान दिवस मनाइरहँदा ०.५ प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो ।
जिल्लामा पछिल्लो समय केही वर्षा भएको र सिक्टा सिँचाइ आयोजनाको पानीले गर्दा हालसम्म ३५ प्रतिशत रोपाइँ भएको छ । उहाँले जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसानले सिँचाइ अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी शर्माका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा किसानले नेपालगन्ज र खजुरा क्षेत्रमा सबैभन्दा कम रोपाइँ गरेका छन् । पानीको अभावले असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ विभिन्न स्थानमा जारी रहेको छ । रोपाइँ भएकामध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
समयमा बर्षा नहुँदा मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँले थप्नुभयो, “गत साता एक दिन राम्रो वर्षा भएको थियो, तर त्यसपछि ठुलो वर्षा भएकै छैन, अधिकांश किसानहरु अझै आकाशतर्फ नै हेरेर बसेका छन् ।”
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा अधिकांशले किसानले राधा चार मोटो धान र केही भारतीय हाइब्रिड जातका धानको रोपाइँ गर्दैआएका छन् । बाँकेमा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
ढिलो वर्षा भएका कारण रोपाइँ केही ढिलो भए पनि बाँकेमा किसानले ढिला रोपाइँ सुरु गर्ने चलन नै बनिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकेमा किसानले विगतमा भदौ पहिलो सातासम्म पनि धान रोपाइँ गर्दैआएको पाइएको छ ।
सिक्टा सिँचाइ आयोजनाको नहरको सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानले वर्षा हुनासाथ धान रोपाइँ सुरु गरेका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले हालसम्म जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी रोपाइँ भएको बताउनुभयो । नहर र पानीको सुविधा भएको क्षेत्रमा पनि परम्परागत रुपमा ढिलो धान रोप्ने चलन भएकाले कतिपय स्थानमा खेतमा पानी भए पनि बिउ ढिला राखिएका कारण किसानले रोपाइँ गर्न नसकेको जनाइएको छ ।










