बाँके\ जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा ९२ जना फरार अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ। अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका व्यक्तिहरूमध्ये खोजतलासका क्रममा ९२ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको असार महिनाको प्रगति विवरणमा उल्लेख छ।
प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले पक्राउ परेका फरार अपराधीबाट ४७ लाख १० हजार ३५१ रुपियाँ जरिवाना असुल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेकाबाट ४५ वर्ष तीन महिना २३ दिन कैद सजायसमेत भुक्तान गराइनेछ ।अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई खोजी गरी कानुनी दायरामा ल्याउने सरकारको नीति अनुसार प्रहरीले अभियान सञ्चालन गर्दै आएको सूचना अधिकारी राठोरले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार केही वर्षयता सञ्चालन हुँदै आएको फरार अपराधी पक्राउ अभियानअन्तर्गत हरेक महिना ५० देखि १०० जनासम्म फरार व्यक्तिलाई पक्राउ गर्ने गरिएको छ।अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएका धेरै व्यक्तिले अझै पनि आफैँ अदालतमा उपस्थित भएर फैसलाको सम्मान नगरेकाले उनीहरूको खोजी गरी पक्राउ गर्ने काम प्रहरीले गर्दै आएको जनाएको छ।
फरार अपराधीको खोजीका लागि विशेष टोली गठन गरी नियमित रूपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।प्रहरीको असार महिनाको प्रगति विवरणअनुसार बाँकेमा एक महिनामा २१६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य अपराधसम्बन्धी ११, गम्भीर अपराधसम्बन्धी ५८ र बाँकी सामान्य प्रकृतिका मुद्दा रहेका छन्।त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६ वटा र आर्थिक अपराधसम्बन्धी ५४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।









