१६ चैत्र २०८०, शुक्रबार

नेपालका दुई हिमाल चढेर स्वदेश फर्किए बहराइन राजकुमार
  • न्युज मानसराेवर

७ कात्तिक, काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका छन् ।

राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरे । राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिएका थिए ।

राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको थियो । आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’

मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गरे । उनले बहराइनसँगको हवाइ उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन् ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो ।

आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचोको सबै फोहोर सफाइ गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech