१२ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा तिन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ

  • न्युज मानसराेवर

बाँके बैजनाथ \ बाँकेको भेरी अस्पतालमा उपचाररत  तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

असोज १० गते स्वाबको नमुना दिएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।यस्तै नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

उनलाई असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । भेरी अस्पतालमा असोज १२ गतेदेखि उपचारका लागि भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी गराए । यसै गरी   नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलकी ६७ वर्षीय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।  मृतक नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य हुन् । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएकी उनको सोमबार बिहान मुत्यु भएको हो ।

उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान साढे १० बजे उनको मृत्यु भएको जिल्ला कोभिड (१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech