८ बैशाख २०८१, शनिबार

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा
  • न्युज मानसराेवर

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले जानकारी दिए ।

यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन विहान ८ बजेदेखि शुरु हुनेछ । यस्तै शनिवार रातिनै मतगणना सम्पन्न गर्ने गरी तयारी भइरहेको उनले बताए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् । यस्तै वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ ।

जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् । एसोशिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् ।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech