१६ चैत्र २०८०, शुक्रबार

मंसिर २१ गतेका लागि सर्‍यो नेकपा स्थायी कमिटी बैठक
  • न्युज मानसराेवर

काठमाडौं- बिहीबारबाट सुरु हुने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सरेको छ। वरिष्ठ नेता झलनाथ खनालले मंसिर २१ गते सम्मका लागि स्थायी कमिटीको बैठक सारिएको जानकारी दिएका हुन्।

पार्टीका सबै विषय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित भएको तर बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओली नै सहभागी नभएपछि उपस्थित सदस्यहरूले २० गतेका लागि सचिवालय कमिटी र २१ स्थायी कमिटीको बैठक राख्ने निर्णय गरेको नेता खनालको भनाइ छ।

यसअघि मंसिर १८ गतेका लागि स्थायी कमिटीको बैठक तय भएको थियो। तर नेकपाका अध्यक्षद्वयबीचको विवादले स्थायी कमिटीको बैठक सरेको हो। ‘पार्टीमा दुई पक्षबीच विवाद यथावत् भएकाले तयारीका लागि केही दिन स्थायी कमिटीको बैठक सारिएको हो,’ नेता खनालले भने।

ओली र प्रचण्डले सचिवालयमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि उक्त प्रतिवेदनलाई लिएर सचिवालयका ओली र प्रचण्ड पक्षगरी दुई भागमा विभाजित छन्। ओली पक्ष प्रचण्डको प्रतिवेदन फिर्ता लिई गत भदौ २६ गतेको स्थायी कमिटी निर्णयमा फर्किएर निकास निकाल्ने पक्षमा छ।

तर, प्रचण्ड पक्ष दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल गरी निर्णयमा पुग्नुपर्ने अडानमा छ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech