१६ चैत्र २०८०, शुक्रबार

सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिँदै
  • न्युज मानसराेवर

काठमाडौं- सरकारले सगरमाथाको उचाइ मंगलबार सार्वजनिक गर्ने भएको छ। यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो। बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो।

मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न मन्त्रालयलाई नै स्वीकृति दिएको थियो। नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ।

भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रीपरिषद्‍मा प्रस्ताव पेस गरेकी थिइन्। आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले बताइन्।

सरकारले पहिलोपटक आफ्नै देशको स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।

सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर मानिँदै आएको छ।

यसअघि गत असारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सामान्यबाहेक सीमा विवाद नरहेको र नेपालले चाँडै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए।

राष्ट्रियसभामा बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको बताएका थिए।  यो घोषणा पछि सरगमाथाको नयाँ उचाई कायम हुने छ।  नेपाल लाइभ

  • २२ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech