१६ चैत्र २०८०, शुक्रबार

सुनसरी र सिराहाका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु

५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो

  • न्युज मानसराेवर

१६ असोज, विराटनगर । मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गरेका दुई जना कोरोना संक्रमितको शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो । मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदा आउँदै बाटोमा मृत्यु भएको हो । उनले भने, ‘दिउँसो १२ः३० बजेको थियो होला । एम्बुलेन्समा ल्याइएका बिरामीलाई उतार्न खोज्दा दुवै जना मृत्यु भइसकेको अवस्थामा पायौं ।’

उनका अनुसार मृतक मध्ये एकजना सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष हुन् ।

इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको देवले बताए ।मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

सोमबारयता नोवेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोवेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर विराट पुर्‍याइएका उनको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको पाइएको इञ्चार्ज देवले बताए ।

शुक्रबार नै विराटनगरमा अर्का एक संक्रमित महिलाको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका– १४ की ७२ वर्षीय महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । अनलाइनमा प्रकाशित

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech