१९ मंसिर २०८१, बुधबार

बाँकेमा १२ अर्ब लागत विमानस्थल विस्तार तीब्र

विमानस्थल विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरी तीन अर्ब ५० करोड बढी बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

  • न्युज मानसराेवर

बाँके । कोरोना महामारीका कारण ६ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजनामा निर्माणको अनुमानित लागत १२ अर्ब छ ।

विमानस्थल विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरी तीन अर्ब ५० करोड बढी बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए । विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएकोे नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

ठाकुरका अनुसार कोभिड–१९ का कारण छ महिनादेखि विस्तारको काम रोकिएको थियो । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ ।यसअघि नै नेपालगञ्ज विमानस्थलबाट दिल्ली उडानको प्रस्ताव गरिएको छ । सोही प्रस्तावबमोजिम विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्शाङ्कन र डिजाइन गरिएको छ । शुरुवाती चरणमा एटिआर विमान उडान गर्न मिल्ने गरी नेपालगञ्ज विमानस्थल विस्तार गरिने छ । दुई दशकभित्र एअर बस जस्ता ठूला विमान उडान भर्न मिल्ने गरी गुरुयोजनामा डिजाइन गरिएको छ ।

योजनानुसार विमानस्थलको रनवे थ्री–सी क्याटोगरी अर्थात् एक हजार ५ सय २४ मिटरबाट वृद्धि गरी फोर–सी क्याटेगरीमा दुई हजार ४ सय ४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयर बस ३ सय २० एनइओ मोडेलका ठूलो जेट विमान सहजै उडान गर्न सक्नेछन् । सामान्यतयाः दैनिक सरदर ४० उडान भर्दै आएको नेपालगञ्ज विमानस्थलबाट झण्डै एक हजार १ सय यात्रु आउजाउ गर्दछन् । राजधानी काठमाडौँंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त उक्त विमानस्थलका लागि नयाँ गुरुयोजनानुसार अगाडि बढ्दा १ सय बिघा जग्गा थप आवश्यक पर्ने देखिएको छ ।

अहिले १ सय ६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप एक सय बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने भएको छ ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech