१२ श्रावण २०८१, शनिबार

कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’
  • न्युज मानसराेवर

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । सदस्यतामा सहमति जुटाएर शनिबारसम्म सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताए । ‘अब ढिलो हुँदैन, सकेसम्म शुक्रबार नै सहमति जुटाएर सभापतिलाई बुझाउँछौं,’ ती सदस्यले भने, ‘हामी सदस्यता विवाद टुंग्याउन अन्तिम चरणमा पुगेका छौं ।’

बिहीबार दिनभर काठमाडौंको एक रिसोर्टमा बसेको कार्यदलले सदस्यता विवाद सुल्झाउन मापदण्डमा सहमति जुटाएको थियो । कार्यदलमा रहेका नेताहरुले बिहीबार साँझ नै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर मापदण्डका बारेमा जानकारी गराएका छन् ।

क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले समायोजनका बारेमा कसरी जाने भन्नेमा कार्यदलमा समझदारी भएको बताए । ‘समायोजनको हकमा नीतिगत विषयमा टुंगो लागेको छ, नयाँ मापदण्ड बनाइएको छ । त्यसलाई कार्यान्वयन गर्नेबारे समझदारी भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘अब छिट्टै कार्यदल टुंगोमा पुग्छ ।’

नेता पौडेलका अनुसार कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढी भएको भन्दै विवाद सिर्जना भएको थियो । सदस्यता छानविन समिति सदस्य रहेका पौडेल, आनन्द ढुंगाना र जीवन परियारले कार्यदलमा भएको सहमति कार्यान्वयनको विषयमा सहजीकरण गरिरहेका छन् ।

केन्द्रीय सदस्य लेखक संयोजक रहेको सदस्यता छानविन समितिले करिब डेढ महिना लगाएर साउन १२ मा सदस्यताको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो । समितिले १७० वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताबाट अधिवेशन गर्नुपर्ने सुझाव दिँदै विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

समितिले बारा, सप्तरी, सर्लाही–२, धनुषा–४, रसुवा र सिन्धुपाल्चोकमा देखिएको सदस्यता विवाद टुंग्याउन सकेको थिएन । समितिले बारा र सप्तरीको फाइल नै खोलेको थिएन भने अन्य क्षेत्रमा समायोजनको विवाद चर्काे देखिएपछि सहमतिका लागि पार्टी पदाधिकारीलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सदस्य पौडेलले समायोजनका बारेमा कार्यदलमा मापदण्ड बनिसकेकाले अब सदस्यता विवाद छिट्टै टुंगिने विश्वास गरे । ‘बारा र सप्तरीको पनि फाइल खोलिसकेको छ । हामीले त्यहाँ देखिएको समस्याका बारेमा कार्यदललाई जानकारी गराएका छौं,’ नेता पौडेलले भने, ‘अब समायोजनको विवाद टुंगिन्छ । मापदण्डको आधारमा समायोजन टुंगिएपछि नयाँको हकमा प्रक्रियागत छ भने मान्यता दिइन्छ, नत्र पुरानैबाट अधिवेशन गर्ने गरी अगाडि बढिन्छ ।’

यसअघि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिको सिफारिस अनुसार सहमति खोज्न तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो । पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच पटकपटक सहमतिका लागि छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि केन्द्रीय समिति बैठकले सिटौला, रिजाल र लेखकलाई क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी दिएको हो ।

महाधिवेशन कार्यतालिका प्रभावित हुन नदिन टाढा–टाढाको जिल्लाका क्रियाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने समझदारी कार्यदलमा भएको छ । वडा अधिवेशन आउन १४ दिन बाँकी रहँदा निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची बुझाइएको छैन ।

समितिले क्रियाशील सदस्यताको सूची पाएको १९ औं दिनमा वडा अधिवेशन गर्न सकिने जनाउँदै आएको छ । क्रियाशील सदस्यतामा भइरहेको ढिलाइले कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेसभित्र बढेको छ । कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ ।

कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस विधान अनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर कांग्रेसले विधानले दिएको एक वर्षको सुविधा र संविधानको थप ६ महिनाको समय पनि गुजार्दै मंसिरमा महाधिवेशनको मिति तोकिएको हो । केन्द्रीय महाधिवेशन गर्न भन्दै कांग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुक गरिसकेको छ ।

कांग्रेसको वर्तमान कार्यसमिति चयन भएको भदौ २३ गते साढे पाँच वर्ष पूरा हुँदैछ । कांग्रेसले पार्टीको वैधानिकता जोगाउन भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । अनलाइन बाट साभार

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech