१२ श्रावण २०८१, शनिबार

चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्कन्छन : प्रदेश अध्यक्ष गिरी
  • न्युज मानसराेवर

बाँके। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य लिला गिरीले सत्ता र स्वार्थका लागि चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्किने दाबी गरेका छन् । उनले शुक्रबार नेपालगञ्जमा एमाले बाँकेका पदाधिकारी र उपलब्ध जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘पार्टी एकीकरणपछि पार्टीको पक्षमा भन्दा पनि सत्ता र स्वार्थको लागि केही व्यक्तिहरु अविरल रुपमा लागेका कारण पार्टीमा फुटको अवस्था आएको हो । तर, पनि विचलित हुनपर्ने अवस्था छैन । निरन्तर पार्टीको हितमा र उपलब्धिमुलक काममा तपाई सबैलाई  लाग्न आग्रह छ ।’

उनले आउने चुनावमा कामको नतिजा आउने गरि काम गर्न र पार्टीको पक्षमा अविरल रुपमा नतिजा कायम हुने गरि लाग्न प्रदेश कमिटीको तर्फबाट निर्देशनसमेत दिए । १० बुँदे कार्यान्वयनपछि एमाले बाँकेमा २ जेठअघिका उपाध्यक्ष निरक गुरुङ्ग पार्टीको अध्यक्ष, सचिव रत्न खत्रीलाई पदस्थापना गराइनुको साथै पार्टी एकताबाट आएका नेता कार्यकर्तालाई पनि उचित स्थान दिनेगरी एमाले बाँकेलाई अघि बढाउन निर्देशन दिए ।

उनले पछिल्लो समय पार्टीबाट फुटेर गएका साथीहरु फेरि एमालेमै फर्कने सम्भावना उत्तिकै रहेकाले उनीहरु आउन चाहेमा जिम्मेवारी दिन सकिने कुरामा जोड दिँदै पार्टी एकता प्रक्रियाबाट आएकालाई पनि उचित ठाउँ दिने बताए ।

एमाले लुम्बिनी प्रदेश सचिव भूमिश्वर ढकालले पार्टीलाई नयाँ सोचका साथ अघि बढाउने गरी योजना निर्माण गरि अघि बढ्नको आग्रह गर्दै पछिल्लो समय पार्टीबाट चोइटिएर गएकाहरु पुन पार्टीमा आउन खोजे उनीहरुको बारेमा सोच्न सकिने स्पष्ट पारे ।

उनले १० बुँदेलाई शतप्रतिशत कार्यान्वयन गर्दै पालिकास्तरमा पुराउने, २ जेठमा सबै कमिटी फर्काउने र विगतलाई बिर्सेर नयाँ जिम्मेवारी लिँदै पार्टीलाई अघि बढाउने गरी लाग्न आग्रह गरे । उनले एमालेमा विगतको जस्तो गुट उपगुट नहुने दाबीसमेत गरे । न्युज कारखानाबाट

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech