२३ बैशाख २०८२, मंगलवार

मन्त्री गजेन्द्र हमालको प्रतिक्रिया : २०२५ सालदेखि कांग्रेसमा छु, अरु कुरा केही दिनमा भन्छु
  • न्युज मानसराेवर

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा मन्त्री बनेको भनिएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफू २०२५ सालदेखि कांग्रेसमा लागेको बताएका छन् ।

हमालले आफू कसको कोटाबाट मन्त्री बनेको भन्नेबारे भने खुलाएनन् ।

‘म भर्खर मन्त्री बनेर आएको छु, मेरो विगतका क्रियाकलाप हेर्नुपर्छ । २०२५ सालमा नेपाली कांग्रेसमा लागेको हो । २०२७ सालमा बाँकेमा विद्यार्थी संघको उपाध्यक्ष भएको हो, बाँके, दाङ र सल्यानमा आन्दोलन गरेको हो,’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नाताबारे पत्रकारले सोधेको प्रश्नमा उनले खुलेर कुनै जवाफ दिएनन्। ‘पारिवारिक नाता त सबैको हुन्छ नि ! म निरन्तर रूपमा कांग्रेसमा लागेको मान्छे हो,२०५२ सालमा सभापति हुँदा बाँकेका ३ वटै क्षेत्र निर्वाचित गराएको हो,’ उनले भने ।

मन्त्री हमालले गैरसांसदलाई ६ महिना मन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार भएको बताए । ‘गैरसांसदलाई मन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार हो, ६ महिना मन्त्री बन्न पाउने कुरा संविधानमै उल्लेख छm’ उनले भने ।

कसको कोटाबाट मन्त्री बनेको, प्रधानन्यायाधीशसँगको सम्बन्ध लगायत विषयमा सोधिएको प्रश्नमा उनले जवाफ दिएनन् । केहीदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने भन्दै उनी बाहिरिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । नवनियुक्त मन्त्रीहरूले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर कार्यभार सम्हालेका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech