१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज मेडिकल कलेज प्रशाशन भन्छ तत्काल तलब भत्ता बढाउने अवस्था छैन
  • न्युज मानसराेवर

बाँके। नेपालगञ्ज मेडिकल कलेज व्यवस्थापन पक्षले कर्मचारीले तलवभत्ता वृद्धिसहितको माग तत्काल सम्वोधन गर्न नसकिने स्पष्ट पारेको छ । शिक्षण अस्पताल व्यवस्थापन पक्षले विहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप व्ययभार पर्ने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारेको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि अस्पताल घाटामा चलिरहेकाले व्ययभार थप्नेगरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताए ।

‘शिक्षण अस्पतालको मुख्य आयस्रोत एमबीबीएस कार्यक्रम र यसले प्रवाह गर्ने स्वास्थ्य सेवा हो’– प्रबन्ध निर्देशक कनोडियाले भने–‘त्यो पनि कोभिडले प्रभावित हुँदा ठूलो नोक्सानी अस्पतालले व्योहोर्न बाध्य भएको छ । एक शैक्षिक सत्र विद्यार्थी नै भर्ना भएनन यस्तो अवस्थामा आर्थिक व्यवभार थपिने माग सम्वोधन असम्भव छ ।’

कोभिडका कारण मेडिकल कलेजमा ०७६\७७ मा एकजना पनि विद्यार्थी भर्ना भएनन् । ०७७\०७८ मा झन विद्यार्थी भर्नाको टुंगो नै छैन् । संस्था घाटामा गइरहेको थाहा हुँदाहुँदै पनि तलवभत्ता बढ्नु पर्यो भनेर आन्दोलन गर्नु अराजकताको पराकाष्टा भएको उनको दाबी छ ।

उनले भने–‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आफ्ना निहीत माग राखेर सेवा प्रभावित गर्नु अराजकता हो । यसमा प्रशाशन तथा नागरिक समाजले पनि मौनता तोड्न आवश्यक छ ।’

कर्मचारीका मागका बिषयमा पटक पटक बार्ता भएको स्मरण गर्दै व्यवस्थापन पक्षबाट वार्ता टोलीका संयोजक रहेका कलेजका उपनिर्देशक श्याम कुमार शर्माले कर्मचारीको आन्दोलन अर्थहीन भएको दाबी गरे ।

उनले भने–‘हामी वार्ताका लागि सधैं तयार छौं । तर, वार्ताका के का लागि ? यथास्थितिमा तलव भत्ता लगायतका सेवा सुविधा बढाउन सक्ने अवस्था छैन । अन्य विषयमा आफुहरु सधैं सकारात्मक रहेका छौ ।’

अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कनोडियाले पछिल्लो पाँच वर्षदेखि अस्पतालको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउदै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप घट्दै गएकाले यसै पनि आर्थिक रुपमा अस्पताल कमजोर हुँदै गएको स्पष्ट पारे ।

तलव वृद्धि, भत्ता लगायतका विभिन्न सात बुँदे माग राखेर गएको कार्तिक १ गतेदेखि कर्मचारीहरु आन्दोलनमा छन । उनीहरुले आकास्मिक बाहेक अन्य सेवा ठप्प पारेका छन् ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech