बाँके\ गत असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण मुलुकभरमा करीब २० प्रतिशत धानबालीमा क्षति पुगेको छ ।
बेमौसमी वर्षाका कारण तराईका अधिकांश क्षेत्रमा धानबालीमा ठूलो असर पुगेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
धान उत्पादनको पकेट क्षेत्र मानिने तराईका अधिकांश जिल्लामा काटेर राखिएको धान पानीमा डुबेको छ ।
‘तराईका अधिकांश क्षेत्रमा धान काटेर राखिएको थियो, काटिएको धान अहिले उम्रिन थालेको छ,’ संयोजक डा. पोखरेलले सुनाए ।
कतिपय जिल्लामा भने ५० प्रतिशतसम्म पनि क्षति पुगेको संयोजक डा. पोखरेलले बताए ।
‘झापा मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलाली, सप्तरी, सिराहा, धनुषा लगायतका जिल्लामा भएको क्षति करीब ५० प्रतिशत नै छ,’ उनले भने ।
वर्षाका कारण प्रायजसो छिटो पाक्ने जातका धानहरूमा क्षति पुगेको छ ।
यी जिल्लाहरू र कैलाली, कञ्चनपुर भनेको करीब ५० देखि ६० प्रतिशतसम्म धान उत्पादन हुने क्षेत्र हो ।
यस वर्ष समयमै पानी परेको कारण धानको उत्पादन १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो ।
सरकारी स्तरमा गरिएको अनुमान पूरा हुने देखिएको थियो, तर बेमौसमी वर्षाले सबै ध्वस्त बनाइदिएको छ ।
कृषि विकास निर्देशनालय डोटीका निमित्त प्रमुख यज्ञराज जोशीको नेतृत्वमा कृषि ज्ञान केन्द्र, कैलाली र कञ्चनपुरका कार्यालयका प्रमुखहरूले कैलाली र कञ्चनपुरको डुबान क्षेत्रमा अनुगमन गरेका थिए ।
अनुगमन टोलीले कैलाली जिल्लामा करीब ५४ प्रतिशत र कञ्चनपुरमा करीब ४२ प्रतिशत धान बालीमा क्षति पुगेको जानकारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । उत्पादन राम्रै भए पनि यस पटकको वर्षाले पुर्याएको क्षतिका कारण सुदूरपश्चिम प्रदेशमा धान भित्र्याउने बेला ५० प्रतिशतले कमी हुने आंकलन गरिएको मन्त्रालयले जनाएको छ ।
फुल्दै गरेको धानमा समेत क्षति
बेमौसमी वर्षाले तराईका अधिकांश जिल्लामा काटेर राखेको धानलाई क्षति पुगेको छ ।
धान काटेर केही दिनमा झार्ने वा कुन्यु लगाउने गरिन्छ । तर धान काटेको दिनदेखि नै वर्षा हुँदा कतिपय कुहिएका छन् भने कतिपय उम्रिएका छन् ।
बेमौसममा आएको वर्षाको असर काटेर राखिएको धानमा मात्र नभई फल्नै लागेको धानमा समेत परेको राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेल बताउँछन् ।
ठाउँ अनुसार धान पनि फरक–फरक लगाउने गरिन्छ । बेमौसमी वर्षाले फूल लाग्दै गरेको धानमा समेत असर गरेको छ ।
पहाडी क्षेत्रमा केही समय ढिला पाक्ने धानका बिउहरू लगाइएको छ । अहिले कतिपय ठाउँमा ती धानहरू फुल्दैछन् । वर्षाले ती धानहरूलाई समेत असर पुर्याएको संयोजक पोखरेलले बताए ।
उनका अनुसार, पहाडी क्षेत्रका धेरै जसो ठाउँमा अहिले धान फुल्ने सिजन छ । यस्तो समयमा ५/६ दिन घाम नलाग्दा मात्र पनि धानमा चामल नपस्ने हुन्छ ।
उनले थपे, ‘अहिले त वर्षा नै भएको छ । यसले पहाडी क्षेत्रको धानबालीमा पनि बोट भएर पनि धान नफल्ने समस्या देखा पर्नेछ ।’
धान उत्पादनको लक्ष्यमा धक्का
यस वर्ष समयमै पानी परेका कारण धान उत्पादन वृद्धि हुने सरकारले अपेक्षा गरेको थियो ।
धान रोपिसकेपछि पनि नियमित वर्षा हुँदा र समयमै रासायनिक मल पाउँदा किसानहरू पनि उत्साहित थिए । तर सरकार तथा किसान दुवैको उत्साहमा बेमौसमी वर्षा बाधक बनेको छ ।
मुलुकभर यस वर्ष १५ लाख हेक्टर जमिनमा धान खेती भइरहेको छ ।
गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो ।
यस वर्ष भने मन्त्रालयले अनुमानित उत्पादनको तथ्यांक प्रसारण गर्ने अन्तिम चरणमा पुगेको समयमा नै वर्षाले क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सञ्जेलले लोकान्तरलाई जानकारी दिए ।
रोपाईं शतप्रतिशत भएको र समयमै पानी तथा मल पाउँदा उत्पादन विगतको तुलनामा करीब १५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो ।
तर वर्षाका कारण धान उत्पादनमा हुने वृद्धिलाई कम गर्ने भएको छ ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा धानको मात्र करीब १५ प्रतिशत योगदान रहने गरेको छ ।
यसपटक वर्षाले धानमा क्षति पुर्याउँदा कुल गार्हस्थ उत्पादनका साथसाथै आर्थिक वृद्धिमा समेत धक्का पुग्ने देखिएको छ ।
चामल आयातको ग्राफ झनै बढ्ने
बेमौसमी वर्षाका कारण मुलुकमा वर्षैपिच्छे उकालो लाग्दै गएको चामल आयातको ग्राफ झनै माथि पुग्ने देखिएको छ ।
अहिले धान उत्पादनको मुख्य क्षेत्र तराईका जिल्लाहरूमा नै वर्षाले ठूलो क्षति गर्दा चामल आयातको ‘ग्राफ’ निकै उकालो लाग्ने देखिएको संयोजक डा. पोखरेलले बताए ।
गत वर्ष ४८ अर्ब रुपैयाँको चामल आयात भएकोमा अब करीब ६५ अर्बभन्दा बढीको चामल आयात गर्नुपर्ने अवस्था आउने देखिएको उनले बताए ।
विगतका समयमा उब्जनी नै कम हुँदा चामल आयात गर्नुपर्ने अवस्था थियो । तर यस वर्ष उब्जनी राम्रो हुने अपेक्षा गरिएपनि वर्षाका कारण झार्न ठिक्क पारिएको धान डुब्दा चामल आयात गर्नुपर्ने अवस्था आउने देखिएको संयोजक पोखरेलले बताए ।
‘गत वर्ष मौसम अनुकूल नहुनुका साथसाथै फाँटहरूमा घरघडेरी र उद्योगधन्दा बढ्ने तर धान खेती नबढ्ने अवस्थाका कारण आयात बढेको थियो,’ संयोजक डा. पोखरेल भन्छन्, ‘यसपालि पाकेको धान नै नास भएपछि चामल आयातको अवस्था झनै बढ्ने र विकराल बन्ने देखियो ।’
अघिल्लो वर्षअघि मुलुकमा २८ अर्ब रुपैयाँ बराबरको चामल आयात गरिएको थियो ।
अहिले अधिकांश क्षेत्रमा चामल किनेर नै खाने अवस्था आएको बताउँदै उनले वर्षाका कारण धानमा क्षति पुग्दा चामल थप बेसाउनुपर्ने देखिएको बताए ।
अहिलेकै अवस्थामा करीब ७० प्रतिशतभन्दा बढी घरपरिवारमा चामल किनेर खाने गरिएको छ । चामलको आयात बढ्दा मूल्यमा समेत उतारचढाव आउनसक्ने उनले सुनाए ।
ग्रामीण भेगका किसानले धान बेचेर ऋण तिर्ने समेत गरेको सुनाउँदै संयोजक डा. पोखरेलले वर्षाको क्षति निकै भयावह हुने संकेत गरे ।
उनले भने, ‘गाउँघरमा कतिपयले धान झारेर त्यो बेचेर तिर्छु भनेर ऋण लिएका थिए, त्यो तिर्ने भाका नाघ्दा कतिपय गरीब समुदायमा यसको असर छुट्टै र भयावह देखा पर्छ ।’
बिउ अभाव चर्कने
वर्षाका कारण अधिकांश धानबालीमा क्षति हुँदा यस वर्ष बिउ अभावको समस्या चर्कने देखिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले स्रोत बिउका लागि देशभर करीब ५२ बिघामा धानबाली लगाएको थियो । बीउ तथा अनुसन्धानका लागि करीब १० हजारभन्दा बढी जातका धान रोपिएको थियो ।
तर अहिले धान डुबेकाले अर्को पटकको बिउलाई ठूलो समस्या पर्ने धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलले बताए ।
उनले भने, ‘अब आउने सिजनका लागि बिउ जोगाउन समस्या भएको छ । पानीले डुबाएका धान कोही उम्रिएका छन् भने कोही कुहिएका छन् ।’
क्षतिको प्रतिवेदन तयार पार्न समिति गठन
क्षतिको प्रतिवेदन तयार पार्नका लागि मन्त्रालयले टोली तयार पारेको छ ।
उपसचिव र अधिकृतस्तरको टोलीले अबको एक हप्ताभित्रमा प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले लोकान्तरलाई बताए ।
उनका अनुसार, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारी गरी ३ देखि ४ जनासम्मको टीमले हरेक प्रदेशका प्रभावित क्षेत्रको अवलोकन तथा प्रतिवेदन तयार पार्नेछन् । लोकान्तरमा प्रकाशित समाचार











