काठमाडौँ। दशैं विदाका कारण लामो समय बस्न नसकेको प्रतिनिधि सभाको बैठक बिहीवार बस्दैछ ।
संसद भवन नयाँ बानेश्वरमा दिउसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक राखिएको छ ।
आफूहरुले उठाएका माग सम्वोधन नभएको भन्दै नेकपा एमालेले आजपनि प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने भएको छ ।
माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको निवेदनमाथि सभामुख अग्नि सापकोटाले कारबाही अगाडि नबढाएको भन्दै एमालेले डेढ महिना देखि संसदमा अवरोध गरिरहेको छ ।
सभामुख सापकोटाले दशैं पछि बस्ने बैठक सुचारु हुने बताएका थिए । तर यसबीचमा संसद गतिरोध अन्त्य गर्ने विषयमा सरकारले विपक्षी दलसँग कुनै संवाद गरेको छैन ।
नेकपा एमालेका एक नेताले आफूहरुले उठाएका माग सम्वोधन नभएकोले संसद अवरोध कायम रहने बताए ।
यसअघि कात्तिक ९ गतेका लागि बैठक तय भएको भएपनि सो दिन नेकपा एमालेको पालिका अधिवेशन परेपछि सूचना मार्फत बैठक २ दिन पर सारिएको थियो ।
भदौ २३ गते सुरु भएको संसद अधिवेशनमा प्रतिपक्षी दलको विरोध र नाराबाजीका बावजुद सरकारले बजेट प्रतिस्थापन विधेयक लगायत केही विधेयक पारित गरेको थियो ।