१३ जेष्ठ २०८१, आईतवार

एमाले महाधिवेशनस्थलप्रति प्रचण्डको आपत्ति- चितवनमा कुन पार्टीको शक्ति कति ?
  • न्युज मानसराेवर

बाँके \ पर्यटकीय शहर चितवन अहिले राजनीतिको हब बनेको छ । नेकपा एमालेले चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने स्थल चितवन नै छानेपछि माओवादी अध्यक्ष प्रचण्डले मुखै खोलेर ‘मलाई सिध्याउन खोजियो’ भनिसकेका छ।

एमालेले चितवनमा महाधिवेशन आयोजना गर्ने भनेपछि प्रचण्ड यसबीचमा ६ पटक त्यहाँ पुगिसकेका छन् भने पछिल्लो पटक त संघीय सरकार र प्रदेश सरकारका ७ जना मन्त्री तथा उच्च सरकारी अधिकारीहरुसहितको विकास वहस नै आयोजना गरेका छन् ।

प्रचण्डले जतिपटक चितवन गए, त्यति नै पटक एमालेले आफूलाई सिध्याउन र माओवादी कमजोर पार्न निहुँ खोजेर महाधिवेशन गर्न लागेको बताएका छन् । उनले चितवनलाई माया गरेकोमा केपी ओली र एमालेलाई धन्यवाद समेत भनिरहेका छन् ।

प्रचण्डको पटक पटकको अभिव्यक्तिको जवाफ ओलीले मंगलवार राधजानी काठमाडौंमा दिए । उनले प्रचण्ड उम्मेदवार भएको ठाउँमा एमालेले महाधिवेशन नै गर्न नपाउने हो भने ठाउँ खोज्नै मुस्किल पर्ने भनेर व्यंग्य गरे ।

ओलीले भने, ‘रोल्पामा गरौं भने उहाँ पहिले नै त्यहाँ उम्मेदवार बनेको ठाउँ । सिराहा गरौं भने दोस्रो पटक उम्मेदवार बनेको ठाउँ । काठमाडौंमा पनि उहाँ उम्मेदवार बनिसक्नुभएको । पछिल्लो पटक उहाँ चितवनमा उम्मेदवार बन्नुभयो । अब उहाँ उम्मेदवार बनेको ठाउँमा महाधिवेशन नै गर्न नपाइने हो भने भोलि म त्यो बाटो हिड्दा पनि मलाई नै सिध्याउन आयो भन्नुहोला ।’

प्रचण्डले भनेजस्तै एमालेले चितवनमा महाधिवेशन गरेर उनलाई र माओवादीलाई सिध्याउन खोजेको हो त ? के चितवन माओवादीका गढ हो ? एमालेले माओवादीलाई र प्रचण्डलाई नै कमजोर बनाउँदा उसलाई फाइदा हुने हो ? यसका धेरै आयाम छन् ।

राजनीतिक दलको शक्ति मापन भनेको मूलरुपमा जनमतबाटै हुने हो । चितवनमा अहिलेसम्मका चुनावी नजिताहरुलाई हेर्ने हो भने प्रचण्डले दावी गरेजस्तो देखिन्न । चितवनमा आजको मितिमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् भने माओवादी तेस्रो शक्ति हो ।

२०६४ सालको माहोलमा समेत चितवनमा क्लिन स्वीप गर्न नसकेको माओवादी त्यसयता खस्किँदै गएको जनमतहरुले देखाउँछ । २०७४ को स्थानीय चुनावमा कांग्रेसको सहायताले माओवादीले भरतपुरमा मेयर जित्न सकेको थियो, त्यो पनि मपतत्र च्यातेर दोस्रोपटक मतदान गराएपछिमात्र ।

त्यसको लगत्तै भएको आम निर्वाचनमा प्रचण्ड आफैं एमालेको सहयोगमा सांसद जितेका थिए । प्रचण्डकै क्षेत्रमा पनि माओवादी तेस्रो दल हो । सो क्षेत्रमा प्रचण्ड उम्मेदवार हुँदा समानुपातिकतर्फ कांग्रेसले २६ हजार १३७,एमालेले २४ हजार १५५ र माओवादीले २२ हजार ९८८ मत पाएको थियो ।

समग्र जिल्लाको समानुपातिक मत हेर्ने हो भने एमाले सबैभन्दा ठूलो दल छ । एमालेले ९३ हजार ५३४ मत पाउँदा माओवादी त्यसको आधाभन्दा कम अर्था ४२ हजार ८५१ मा सिमित भएको थियो भने कांग्रेसले माओवादीभन्दा करीव दोब्बर ८१ हजार १०४ मत पाएको थियो ।

त्यसअघि स्थानीय चुनावको परिणाम हेर्दा पनि एमाले एक्लै सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले महाधिवेशन गर्न लागेको पूर्वी चितवनका चारवटै नगरपालिकामा माओवादीले एउटा वडा सदस्य समेत जित्न सकेको थिएन भने एमालेले सबै नगरपालिका जितेको छ ।

चितवनका ७ स्थानीय तहमध्ये राप्ती,खैरहनी,कालिका र रत्ननगर नगरपालिकामा प्रमुख उपप्रमुखसहित बहुमत एमालेले जितेको छ । त्यस्तै माओवादीले मेयर जितेको माडी नगरपालिकामा पनि उपमेयरसहित बहुमत एमालेको छ ।

कांग्रेसको समर्थनमा माओवादीले भरतपुरको मेयर जितेको थियो भने कांग्र्रेसले इच्छाकामना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र भरतपुरको उपमेयर जितेको थियो ।

जिल्लाभरका ९८ वडामध्ये एमालेले ५७ वडाध्यक्ष जित्दा कांग्रेसले ३५ र माओवादीले जम्मा ६ वटा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । एमालेका निर्वाचित ४ जना वडाध्यक्षबाहेक अरु सबै सोही पार्टीमा देखिन्छन् ।

चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई आगामी चुनाव सुरक्षित छैन भन्ने सन्देश दिन खोज्नु बेग्लै कुरा हो तर प्रचण्डले दावी गरेजस्तो एमालेको प्रतिस्पर्धी चितवनमा माओवादी होइन कांग्रेस नै हो । यदि झस्किने हो भने प्रचण्ड होइन कांग्रेस नेताहरु झस्किनुपर्ने थियो ।

आजको अवस्थामा पनि प्रचण्डले चितवनबाट चुनाव जित्न कांग्रेस वा एमालेमध्ये एउटा पार्टीको सहयोग लिनुपर्छ । त्यसैले एमालेले महाधिवेशन चितवनमा गर्दैमा प्रचण्ड वा माओवादी कमजोर हुने भन्ने तर्कमा दम देखिँदैन ।

बरु प्रचण्डले यहि मेसोमा ‘इमोसनल’ कुरा गरेर चितवनवासी र देशकै ध्यान आफूतिर खिच्न खोजेको भने बुझ्न सकिन्छ । एउटा के कुरा सत्य हो भने प्रचण्डका बाबु छोरीले नै आफ्नो शक्ति लगाएर चितवनको विकासका लागि बजेटको ओइरो भने लगाएकै छन् । त्यसको प्रतिफल भने चितवनबासीले नै महशुस गर्ने कुरा हो ।

कुन स्थानीय तहमा को बलियो ?

स्थानीय तहमा एमालेबाट निर्वाचित हुने जनप्रतिनिधि धेरै छन् । दलित वा अल्पसंख्यक सदस्यबाहेक ५ सय १ जना जनप्रतिनिधिको विवरण केलाउँदा २ सय ९१ जना एमाले, १ सय ७७ जना कांग्रेस र ३२ जना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । रत्ननगर, खैरहनी, कालिका, राप्ती नगरपालिकामा मेयर–उपमेयर दुबैमा एमालेकै नेतृत्व छ । इच्छाकामना गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र भरतपुर महानगरको उपमेयरमा कांग्रेसको नेतृत्व छ ।

भरतपुर महानगर र माडी नगरपालिको मेयरमा माओवादी केन्द्रको नेतृत्व छ । चितवनमा दलित वा अल्पसंख्यक सदस्यतर्फका २० जना निर्वाचित भएकामध्येबाट माओवादीतर्फ १, एमालेका १८ र कांग्रेसका १ जना छन् । एमालेबाट निर्वाचित दलित वा अल्पसंख्यक सदस्य सहितका ३ सय ९ जनप्रतिनिधिमध्ये ३६ जना पार्टी विभाजनपछि एकिकृत समाजवादीमा लागेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष र २५ जना सदस्यहरुले एमाले त्यागेका छन् । यो संख्या घटाउँदा पनि एमाले पहिलो स्थानमै देखिन्छ । महानगरमा कांग्रेस र एमालेले १३–१३ वटा वडामा वडाध्यक्ष, ५६–५६ जना वडा सदस्यहरुमा जितेको थियो । भरतपुरमा माओवादीसँगको गठबन्धनमा उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाहले मेयर रेनुभन्दा ४ हजार ६९ बढी मत ल्याएकी थिइन् । शाहले एमाले नेतृलाई ७ हजार ६ सय ७१ मतले हराएकी थिइन् ।

माडीमा मेयर, ३ वडाध्यक्ष, १४ सदस्यहरु सहित १८ जना माओवादीबाट निर्वाचित थिए । एमालेबाट १ उपमेयर, ५ जना वडाध्यक्ष, १९ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट १ वडाध्यक्ष सहित ३ जना निर्वाचित थिए ।

रत्ननगरको १६ वडाहरुमध्ये एमालेबाट १० जना वडाध्यक्ष, ४० जना सदस्यहरु सहित मेयर र उपमेयर निर्वाचित थिए । कांग्रेसबाट ६ जना वडाध्यक्षहरु, २४ जना सदस्यहरु निर्वाचित थिए । एमालेबाट निर्वाचित मेयर नारायण वनले कांग्रेसलाई १ हजार ४ सय ५०, माओवादीलाई ११ हजार मतान्तरले हराएका थिए । उपमेयर विमलादेवी दवाडीले पनि कांग्रेस र माओवादी सोही बराबरी मतान्तरले हराएकी थिइन् ।

१३ वडाहरु रहेको खैरहनीमा एमालेबाट मेयर, उपमेयर, ७ जना वडाध्यक्ष, ३१ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट ६ जना वडाध्यक्ष, २१ जना सदस्यहरु निर्वाचित थिए । मेयर लालमणी चौधरीले कांग्रेसलाई ८ सय ८४, माओवादीलाई ७ हजार ५ सय ७० मतान्तरले हराएका थिए । उपमेयर सुनिता खरेलले पनि मेयरकै बराबरी मत ल्याएकी थिइन् ।

११ वडाहरु रहेको कालिकामा एमालेबाट मेयर, उपमेयर, ६ जना वडाध्यक्ष, २६ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट ५ जना वडाध्यक्ष, १७ जना सदस्यहरु निर्वाचित बनेका थिए । मेयर खुमनारायण श्रेष्ठले कांग्रेस उम्मेदवारलाई ३ सय २८, माओवादी उम्मेदवारलाई ५ हजार १ सय १४ मतान्तरले पराजित गरेका थिए । उपमेयर कमला भट्टराईले पनि हाराहारीकै मतान्तरले पराजित गरिन् ।

१३ वडा रहेको राप्तीमा एमालेबाट मेयर, उपमेयर, ११ जना वडाध्यक्ष, ४३ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट २ जना वडाध्यक्ष, ७ जना सदस्यहरु निर्वाचित भए । मेयर प्रभा बरालले कांग्रेस उम्मेदवारलाई ४ हजार ३ सय २१, माओवादीलाई ९ हजार १ सय १८ मतान्तरले पराजित गरिन् । उपमेयर इमानसिंह मुक्तानले पनि सोही बराबरकै मतान्तरले पराजित गरे । ७ वडाहरु रहेको इच्छाकामना गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, ३ जना वडाध्यक्ष, ११ जना सदस्यहरु निर्वाचित भए । एमालेबाट ३ जना वडाध्यक्ष, ११ सदस्यहरु निर्वाचित थिए । माओवादीबाट १ जना वडाध्यक्ष, ५ जना सदस्यहरु निर्वाचित थिए ।

प्रदेशसभा-प्रतिनिधिसभाको चुनावी तराजु

चितवनमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्रहरु छन् । पार्टी एकताको लक्ष्य सहित चुनावी गठबन्धनमा होमिएका एमाले र माओवादी २०७४ सालको चुनावमा मिलेर गए । कांग्रेस नेताहरु फराकिलो मतान्तरले हार्न पुगे । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि १ र २ एमाले र ३ मा माओवादी केन्द्रले पायो । क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डेले कांग्रेस उम्मेदवारलाई १५ हजार ३ सय ६० मतान्तरले पराजित गरे । क्षेत्र नम्बर २ मा एमाले नेता कृष्णभक्त पोखरेलले १७ हजार ३ सय ५६ मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गरे । क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको साथ पाएका राप्रपा नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले हराएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ (क)मा एमालेका दावादोर्जे लामाले ७ हजार २९ मतान्तरले, प्रदेश १ (ख) मा तत्कालिन एमाले नेता कृष्ण शर्मा खनालले ८ हजार ७ सय २२ मतान्तरले हराए । खनाल हाल एकिकृत समाजवादी पार्टीमा लागेका छन् । उनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । यी दुवै प्रदेश क्षेत्र मिलेर बनेको क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे एमालेको स्थायी कमिटि सदस्य छन् ।

प्रदेश २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहालले कांग्रेसका उम्मेदवारलाई ४ हजार ७ सय १८ मतान्तरले हराएका थिए । २ (ख) मा एमालेका विजय सुवेदीले कांग्रेसका उम्मेदवारलाई ८ हजार ९ सय २ मतान्तरल हराएका थिए । यी दुवै मिलेर बनेको क्षेत्र नम्बर २ बाट निर्वाचित कृष्णभक्त पोखरेल पार्टीको महाधिवेशनमा केन्द्रीय नेतृत्वमा जान खोजिरहेका छन् ।

प्रदेश ३(क) मा एमाले नेता कृष्णप्रसाद भुर्तेलले कांग्रेसका उम्मेदवारलाई १ हजार ७ सय ४० मतान्तरले हराएका थिए । प्रदेश ३(ख) मा माओवादी केन्द्रका रामलाल महतोले कांग्रेस उम्मेदवारलाई ७ हजार १ सय १६ मतान्तरले हराएका थिए । यी दुवै क्षेत्र मिलेर बनेको निर्वाचत क्षेत्र नम्बर ३ बाट पूर्वप्रधानमन्त्री प्रचण्डले जितेका थिए ।

चितवनमा निर्वाचनको इतिहास

चितवनको निर्वाचन क्षेत्र बेलाबखत फेरबदल भइरहेको छ । २०४८ सालमा ३ निर्वाचन क्षेत्र थियाे भने २०५१ काे मध्यावधी चुनावमा ४ क्षेत्र बन्यो । त्यसपछि २०६४ सालमा ५ वटा निर्वाचन क्षेत्र कायम गरियो । २०७४ सालमा फेरी घटाएर ३ वटा बनाइएको छ ।

२०४८ सालको चुनावमा चितवन क्षेत्र नम्बर १ मा एमालेबाट जागृतप्रसाद भेटवाल, २ मा तत्कालीन नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र ३ मा तत्कालिन संयुक्त जनमोर्चा नेपालका अमिक शेरचन विजयी बने ।

२०५१ को चुनावमा एमालेबाट क्षेत्र नम्बर १ मा जागृतप्रसाद भेटवाल, २ मा काशिनाथ अधिकारी, कांग्रेसबाट क्षेत्र नम्बर ३ मा गंगाधर लम्साल, ४ मा तीर्थराज भुषाल विजयी बने । २०५६ को चुनावमा ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित्यो । १ मा सावित्रि बोगटी पाठक, २ मा एकनाथ रानाभाट, ३ मा गंगाधर लम्साल, ४ मा नारायणशर्मा पौड्याल विजयी बने ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा ५ निर्वाचन क्षेत्रमध्ये ४ वटामा माओवादी र १ वटामा एमालेले जित्यो । २०६४ मा कांग्रेस शून्य बन्यो । क्षेत्र नम्बर १ मा एमालेका लालमणि चौधरी, माओवादीबाट २ मा माओवादीका रामबहादुर थापा वादल, ३ मा नारायणप्रसाद दाहाल, ४ मा चित्रबहादुर श्रेष्ठ, ५ मा अमिक शेरचन विजयी बने ।

२०७० सालको चुनावमा माओवादी शून्य बन्यो । एमालेबाट क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, ३ मा कृष्णभक्त पोखरेल, कांग्रेसबाट २ मा शेषनाथ अधिकारी, ४ मा तत्कालीन कांग्रेसका केन्द्रीय सभापति सुशील कोइराला र ५ मा राप्रपा नेता विक्रम पाण्डे विजयी बने । क्षेत्र नम्बर ४ मा भएको उपनिर्वाचनमा कांग्रेसकै रामकृष्ण घिमिरे विजयी बने ।

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर बखानसिंह गुरुङ, बत्ति बलेको दियो चुनाव चिन्ह लिएर सन्तकुमार चौधरी विजयी बने । २०४३ सालको पञ्चायत सदस्य चुनावमा जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितवनबाट विजयी बने । जनमत संग्रहका बेला चितवनबाट ३९ हजार ७ सय ३१ मत बहुदल र ३१ हजार २ सय १९ मत निर्दलका पक्षमा खसेको थियो ।नेपाल प्रेस 

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech