१२ श्रावण २०८१, शनिबार

खाद्यले किनेन धान
  • न्युज मानसराेवर

बाँके \ काटेर भित्र्याउने बेला परेको पानीले भिजेको धान बिक्री नभएको किसानले बताएका छन् । सरकारले ढिलो गरी धान खरिद थाले पनि नेपालगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गुणस्तर नपुगेको भन्दै त्यस्तो धान फिर्ता गर्न थालेको हो । पानीले भिजेको धानमा गुणस्तर नपुगेको कम्पनीले जनाएको छ ।

‘कात्तिकमा परेको बेमौसमी वर्षाले पाकेको धानमा ठूलो क्षति पुर्‍यायो । कतै काटिसकेको त कतै काट्ने तरखरमा किसान थिए,’ अखिल नेपाल किसान महासंघको केन्द्रीय सचिव खडक खड्काले भने, ‘अहिले त्यही धानसमेत कम्पनीले खरिद गरेको छैन । यो किसानको दोष होइन ।’ बेच्न भनेर खाद्य व्यवस्थाको गोदामसम्म ल्याएको धान फेरि बोकेर फिर्ता लैजान किसानलाई बाध्य बनाइएको उनले बताए । बजारभन्दा धेरै मूल्य तोकेर धान खरिद गर्न लागेको कम्पनीले गुणस्तर नपुगेको भन्दै धमाधम फिर्ता गरेको हो । पानीले भिजेको, टुसा उम्रिएको धान खरिद नहुने कम्पनीले जनाएको छ ।

‘अहिलेसम्म ९५ प्रतिशत धानमा गुणस्तर देखिएन । यो किसानको दोष होइन तर यस्तो धान खरिद गरेर हामी कर्णालीका उपभोक्तालाई खुवाउन सक्दैनौं,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामबहादुर विष्टले भने, ‘अहिलेको स्थिति हेर्दा धान किन्ने लक्ष्य पूरा हुने अवस्था छैन ।’ मापदण्डअनुसारको गुणस्तरीय धान आएमा कोटा व्यवस्थापन गरेर थप खरिद गर्न सकिने उनले बताए ।

कम्पनीले आइतबारदेखि धान किन्न थालेको हो । यसपालि मध्यम २० हजार र मोटा ५ हजार गरी २५ हजार क्विन्टल धान खरिद गरिंदै छ । कम्पनीले गत वर्षभन्दा आधा कम कोटा तोकेर धान खरिद गर्न थालेको हो । कात्तिकको बेमौसमी वर्षाले ठूलो मात्रामा धानबालीमा नोक्सानी गरेकाले कम्पनीले यस वर्ष धान खरिदको कोटा घटाएको जनाएको छ । गत वर्ष कार्यालयले ५० हजार क्विन्टल धान खरिद गर्ने भनेकामा ४७ हजार ८ सय क्विन्टल मात्रै खरिद गरेको थियो ।

कम्पनीले मध्यम धान २ हजार ९ सय २ रुपैयाँमा र मोटा धान २ हजार ७ सय ५२ रुपैयाँमा खरिद गर्ने जनाएको छ । धान खरिदका लागि बाँकेमा कृषि ज्ञान केन्द्रले ८ सय २५ जना किसानलाई कुपन वितरण गरेको छ । एक जना किसानले बढीमा ३० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था छ । बाँकेमा १६ लाख ५० हजार क्विन्टल धान उत्पादन भएको छ । ‘वर्षाले धानबाली सखाप बनायो । सरकारी राहतको आशा नै रहेन । बचेको धान पनि बेच्न पाएनौं,’ बाँकेको जानकी गाउँपालिकाका सरोज मिश्रले भने, ‘सरकारले राहत नदिए पनि धान खरिद गर्ला भनेको त्यही पनि गरिदएन् ।’ जिल्लामा ३० प्रतिशत धान बालीमा बर्षाले पूर्णरूपमा क्षति पुगेको अनुमान छ । व्यापारीले धान सस्तो मूल्यमा खरिद गर्न लागेपछि किसानको लगानीसमेत नउठ्ने भएको मिश्रले बताए । इकान्तिपुर

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech