१३ बैशाख २०८१, बिहीबार

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी
  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए ।

उनले भने, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए । केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबा हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको भन्दै पूर्व परराष्ट्रमन्त्री थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’ अनलाइन खबर

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech