६ बैशाख २०८१, बिहीबार

कर्णालीका ४ जिल्ला कुष्ठरोगको उच्च जोखिममा, रोग लुकाउँदा उपचारमा समस्या
  • देव राना

सुर्खेत- जाजरकोट दशेराकी एक युवती लामो समयदेखि कुष्ठरोगबाट ग्रसित थिइन्। तर उपचारका लागि अस्पताल जान उनी डराउँथिन्।

कारण कुष्ठरोग लागेको कुरा अरुले थाहा पाएमा समाजबाट तिरस्कृत हुने डर। समाजमा अहिले पनि कुष्ठरोग भनेको पाप हो भन्ने भ्रम छ। बुढापाकाबाट पूर्वजन्मको पाप र देवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने सुनेकी उनले यही भ्रमका कारण लामो समय रोग पालेर बसिन्।

स्वास्थ्यकर्मीले राम्रो अस्पतालमा जाँच गर्न सल्लाह दिए पनि समाजबाट तिरस्कृत हुने डरले उपचार गर्न गइनन्। ‘कुष्ठरोग लागेको थाहा पाए समाजले बहिस्कार गर्ला भन्ने डर थियो’ ती युवतीको भनाइ उद्धृत गर्दै साइनिङ अस्पताल सुर्खेतका व्यवस्थापक मंगल थारुले भने ‘समाजको डरकै कारण उनले रोग लुकाएर बसिन्।’

गत फागुनमा आईएनफद्वारा सञ्चालित साइनिङ अस्पताल सुर्खेतले दशेरामै कुष्ठरोग सम्बन्धि उपचार शिविर चलायो। कुष्ठरोगप्रतिको भ्रमका कारण कतिपय नागरिक खुल्दैनन् भन्ने बुझेर अस्पतालले तीन दिनसम्म घरदैलो अभियान चलायो। कुष्ठरोग उपचार गरेमा निको हुन्छ भनेर बुझायो। चौथो दिनमा स्वास्थ्य शिविर राख्यो। शिविरमा १९४ जनाले स्वास्थ्य परीक्षण गराए।

गोपनियता कायम राख्ने सर्तमा ती युवती पनि स्वास्थ्य परीक्षण गराउन राजी भइन्। उनलाई कुष्ठरोग लागेको पुष्टि भयो। कुष्ठरोग लागेको पुष्टि भएपछि उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छन्। तर उनले केही लामो समय उपचार गर्नुपर्ने अवस्था छ।

कुष्ठरोगको जाँच गराउन डराउने उनी एउटा उदाहरण मात्रै हुन्। कुष्ठरोग पाप गरेका कारण लाग्छ भन्ने भ्रम अहिले पनि छ। यही कारण अधिकांश नागरिक रोगको शंका लागे पनि उपचार गराउँदैनन्। समाजबाट तिरस्कार परिने डरले रोग लुकाएर बस्छन्। जनचेतनाको अभाव र धार्मिक कुसंस्कारयुक्त समुदायमा अहिले पनि कर्णालीमा कुष्ठरोगप्रतिको बुझाइ फेरिएको छैन।

कर्णाली प्रदेशमा कुष्ठरोग उन्मुलनका लागि लामो समयदेखि कार्यरत साइनिङ अस्पताल सुर्खेतले सेवा दिँदै आएको छ। कर्णाली प्रदेशमा ९ वर्षको अवधिमा करिब ४०० जना कुष्ठरोगका बिरामीको पहिचान भएको छ। साइनिङ अस्पताल सुर्खेतका अनुसार २०७० सालदेखि हालसम्म ३९८ जना कुष्ठरोगका बिरामी भेटिएका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष २०७१ मा ३७ जना, २०७२ मा ५८ जना, २०७३ सालमा ६४ जना, २०७४ सालमा ७७ जना, २०७५ सालमा ६० जना, २०७६ मा ४९ जना र चालू आर्थिक वर्षमा १४ जनालाई सेवा दिएको छ।

कर्णालीका ४ जिल्ला उच्च जोखिममा

कर्णाली प्रदेशका १० मध्ये ४ जिल्लाहरु कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। अन्य जिल्लाको तुलनामा सुर्खेत, कालिकोट, दैलेख र सल्यान कुष्ठरोगको उच्च जोखिममा छन्। हरेक वर्ष नयाँ बिरामी भेटिँदै आएका ती जिल्लाहरुमा अहिले पनि १० जनाभन्दा बढी उपचाररत छन्।

हाल सल्यानमा १४ जना, सुर्खेत र कालिकोटमा १३/१३ जना र दैलेखमा १२ जना कुष्ठरोगीहरु उपचाररत रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कुष्ठ तथा क्षयरोग अधिकृत पदम केसीले जानकारी दिए। त्यस्तै जाजरकोट र रुकुमपश्चिममा ५-५ जना, जुम्लामा ४ जना र डोल्पामा १ जना गरी कुल प्रदेशभर ६७ जना उपचाररत छन्। मुगु र हुम्लामा कुष्ठरोग संक्रमितको संख्या शुन्य रहेको केसीले जनाए।

कुष्ठरोगको नियमित उपचार गराउने बिरामीलाई सरकारले प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। कुष्ठरोगको नियमित उपचार पूरा गरेपछि मात्रै सो रकम उपलब्ध गराइन्छ।

त्यस्तै रोगबाट हुने जटिलताको उपचार गर्न अस्पतालमा भर्ना हुने प्रभावितलाई यातायात खर्च थप १ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको निर्देशनालयले जनाएको छ। यसैबीच ६८ औं विश्व कुष्ठरोग दिवशको अवसरमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले कुष्ठरोगबाट अपाङ भएका व्यक्तिलाई फलफूल वितरण गरेको छ। साइनिङ अस्पताल सुर्खेतमा ५ जना अपाङ्गहरुलाई फलफूल वितरण गरिएको कृष्ठरोग अधिकृत केसीले जानकारी दिए। नेपाल समय

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech