३ आश्विन २०८१, बिहीबार

शुक्रवार ७१औं प्रजातन्त्र दिवस मनाईंदै
  • न्युज मानसराेवर

काठमाण्डौ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शुक्रवार ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।

सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech