१३ बैशाख २०८१, बिहीबार

भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको विरामीको गुनासो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । उपचारका लागि आउने सिकलसेल एनिमियाका विरामीले भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको गुनासो गरेका छन् । उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार नपाएको गुनासो गर्दै पीडा सहन नसकेर बेडमा छटपटाउँदा समेत चिकित्सकले बेवास्ता गर्ने गरेको विरामीको गुनासो छ ।

सिकलसेल एनिमियाका विरामीलाई अस्पतालमा कार्यरत चिकित्सकले उपचार नगरि पञ्छिने गरेको बढैयाताल गाउँपालिका–४ का भोला सिंह थारुले बताए । सिकलसेल एनिमियाका विरामीको उपचार निश्चित चिकित्सकले मात्र गर्दै आएको उनको भनाई छ ।

‘अस्पतालमा विरामी आएपछि उपचार गर्ने दायित्व सवै चिकित्सकको हुनुपर्ने हो, तर फलानो चिकित्सकलाई देखाउनुस भन्दै ड्यूटीमा रहेका चिकित्सक समेत पञ्छिन छन् । दुखाई सहन नसकेर बेडमा छट्पटाएको टुलुटुलु हेरेर बस्छन्,’ उनले भने ।

उनी एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता उपचारका लागि आउने विरामीलाई भेरी अस्पतालले बेवास्ता गरि उपचारमा ढिलाई गर्दै आएको छ । पीडाले छट्पटाई रहेका विरामीलाई सिधै जनरल वार्डमा राखिन्छ ।

‘त्यहाँ न समयमा चिकित्सक पुग्छन् न त स्वास्थ्यकर्मी नै पुग्छन्,’ बर्दिया धधवारका रामनरेश थारुले भने । उनले समयमा चिकित्सक नआउँदा धेरै पीडा खेप्न परेको बताए । ‘समयमै चिकित्सक पुग्ने हो भने सहज हुने थियो,’ उनले भने ।

सिकसेल एनिमियाका विरामीको उपचार बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले गर्दै आएका छन् । उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि भेरी अस्पतालमा स्थापना गरिएको सिकलसेल शाखाको बोर्ड समेत हटाइएको छ । बोर्ड हटाइएपछि विरामीहरु झुकिने गरेको सिकलसेल एनिमिया सोसाइटी (स्कास) का अध्यक्ष प्रभुराम चौधरीले बताए ।

उनले पछिल्लो समय भेरी अस्पतालमा आउने विरामीहरु उपचारबाट बञ्चित भइरहेको बताए । अस्पतालमा आएका सिकलसेलका विरामीलाई बेवास्ता गरिएको उनले बताए । सिकलसेल एनिमियाका विरामी हेर्ने छुट्टै विभाग भएको भन्दै अन्य चिकित्सकले त्यसतर्फ ध्यान नदिएको उनको भनाई छ । ‘उपचार गर्नुको साटो हेयको दृष्टिले हेर्ने गरिन्छ,’ उनले भने, ‘विरामीले राम्रो ब्यवहार नपाउँदा पीडा माथि पीडा थपिने गरेको छ,’ उनले भने ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले भेरी अस्पतालले एक लाख रुपैँया बराबरको उपचार दिँदै आएको बताए । उनले विरामीलाई भेदभाव नगरिएको बताए । उपचारका लागि आएका विरामीलाई भेद्भाव गर्ने कुरा हुँदैन । विरामीलाई यो या त्यो चिकित्सकले हेर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सिकलसेल एनिमिया विरामीको उपचार गर्ने छुट्टै यूनिट छ, त्यस मार्फत उपचार हुन्छ ।’

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech