१५ चैत्र २०८०, बिहीबार

उपचारको दायरामा छैनन् ४१ हजार क्षयरोगी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  क्षयरोग नियन्त्रणका लागि सरकारको ठूलो लगानी भए पनि खासै प्रगति भने देखिएको छैन। पछिल्लो समय समायोजनका कारण दक्ष र तालिम प्राप्त कर्मचारीको दरबन्दी नमिल्दा झनै समस्या थपिएको छ।

नेपालमा हरेक वर्ष ६९ हजार क्षयरोगका बिरामी थपिन्छन्। तीमध्ये ४१ हजार बिरामी उपचारको दायराबाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ।

क्षयरोगका कारण वर्षमा १७ हजार मानिसको मृत्यु हने गरेको छ। प्रत्येक दिन १९० जना बिरामी थपिए पनि ५० प्रतिशत बिरामी उपचारमा छुटेको सरकारको पछिल्लो सर्वेक्षणले देखाएको छ। जसले गर्दा २०३० मा क्षयरोग निर्मूल पार्ने संयुक्त राष्टसंघको लक्ष्य पूरा नहुने संकेत देखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष विश्वमा एक करोड क्षयरोगका बिरामी थपिन्छन्। तीमध्ये १४ लाखको मृत्यु हुने गरेकाे छ।

विश्वव्यापी रुपमा क्षयरोगको बढी भार बंगलादेश, चीन, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण अफ्रिका गरी आठ देशमा छ। ती देशमा विश्वका कुल क्षयरोगीमध्ये ८७ प्रतिशत बिरामी छन्।

दक्षिण एसियाका भारत, पाकिस्तान र बंगलादेशमा  ३७ लाख क्षयरोगी रहेको संगठनको तथ्यांक छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचन नेपालमा प्रत्येक वर्ष ६९ हजारभन्दा बढी क्षयरोगका बिरामी थपिने बताउँछन्।

तीमध्ये उपचारको दायरामा नआएकालाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठूलो चुनौती देखिएको उनको भनाइ छ। उनी भन्छन्, ‘नेपालमा नयाँपुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको आँकलन छ।’

निर्देशक डा. भट्टचन भन्छन्, ‘क्षयरोगको उपचार सरकारले निः शुल्क गरे पनि अझै यति ठूलो संख्यामा रोगी उपचार बाहिर रहनु दुर्भाग्यपूर्ण हो।’

सर्वेक्षणअनुसार नेपालमा निजी स्वास्थ्य संस्थामार्फत उपचार गराउनेको संख्या करिब १५ प्रतिशत छ। निर्देशक भट्टचन निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास भइरहेको बताउँछन्।

क्षयरोग केन्द्रका योजना, मूल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले कोरोनाबाट सात जना क्षयरोगीको मृत्यु भएको बताए।

हाल विश्वमा औसत १५ प्रतिशत क्षयरोगबाट मृत्यु हुने पाइएको छ भने नेपालमा २५ प्रतिशत क्षयरोगका बिरामीको मृत्यु हुने गरेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले क्षयरोग रोकथाम तथा नियन्त्रण गर्न समाज नै लाग्नुपर्ने बताए।
पाँच हजार उपचार केन्द्र 

सरकारले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा प्रदान गर्दै आएको छ।

यसैगरी औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र, ८१ वटा उपकेन्द्र र ६ वटा डीआर होस्टेल एउटा डीआर होममार्फत सेवा प्रदान गरिएको छ।

नेपालमा औषधि प्रतिरोधी डीआर क्षयरोगका बिरामी थपिने क्रम बढ्दो छ। यस्ता बिरामी बर्सेनि दुई हजार दुई सय थपिने गरेका छन्।

के हो क्षयरोग ?

सार्क क्षयरोग तथा एचआईभी एड्सका प्रमुख डा. विवेककुमार लालका अनुसार क्षयरोग संक्रामक रोग हो।

माइक्रोब्याक्टेरियम टयुबरकुलोसिस टीबी नामको कीटाणुका कारण लाग्ने यो रोग शरीरको जुनसुकै भागमा पनि लाग्न सक्छ।

क्षयरोग भएमा छाती तथा फोक्सोमा बढी असर गर्छ। यसले सबैभन्दा बढी फोक्सोमा असर गर्छ। यीबाहेक घाँटीको ग्रन्थी, पाठेघर, पेट, कलेजो, मुटुको झिल्ली, मिर्गौला, मस्तिष्क, ढाडको हड्डीमा पनि क्षयरोगको संक्रमण हुन्छ। हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जीवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ।

कसरी पहिचान गर्ने? 

तीन सातासम्म निरन्तर खोकी लाग्नु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, अकस्मात् तौल घट्नु, खानामा अरुचि हुनु, बेलुकापख मन्द ज्वरो आउनु, धेरै पसिना आउनु, थकान बढी महसुस हुनु क्षयरोगका लक्षण हुन्।

डा. विवेककुमार लाल शरीरमा यस्ता लक्षण देखिएमा तत्काल परीक्षण गराइहाल्नुपर्ने बताउँछन्।

उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएकामा संक्रमण सबैभन्दा बढी हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा सजिलै क्षयरोग लाग्न सक्छ। साथै कुपोषणका कारण पनि यो रोग लाग्न सक्छ।

रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। शंका लाग्नेबित्तिकै उपचार तथा परामर्शका लागि अस्पताल जानुपर्छ। सुरुमै उपचार गरेमा प्रभावकारी हुने भट्टचन बताउँछन्।

‘नियन्त्रणमा स्थानीय तह अग्रसर हुनुपर्छ’ 

डा. भट्टचन क्षयरोग नियन्त्रणमा स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने बताउँछन्।  अबको रणनीतिक योजनामा क्षयरोग मुक्त पालिकाको विषय समावेश गर्नुपर्ने उनको सुझाव छ। त्यसलाई राष्टिय योजनासँगै लैजानुपर्छ।

क्षयरोग नियन्त्रणमा उच्चस्तरीय नेतृत्व, दातृसंस्था, क्षयरोगमा लाग्ने संघसंस्था, विद्यार्थी, समाज, व्यक्ति, परिवार, बिरामी सबैको महत्त्वपूर्ण भूमिका रहने भट्टचन बताउँछन्।

‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित बुधबार विश्व क्षयरोग दिवस मनाइँदै छ। डा. रर्बट कोकले सन् १८८२ मा क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिएको हो।

संयुक्त राष्ट्रसंघले सन् २०३० भित्र विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। रोगीको संख्या बढिरहेको र उपचारमा नसमेटिएकाको संख्या पनि धेरै रहेकाले अबको ९ वर्षमा यो रोग उन्मूलन गर्न सहज नरहेको विज्ञहरूको भनाइ छ। साभार

 

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech